नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा लहर चलिरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटीलाई नेकपामा स्वागत गर्दै नेपालले आफ्नो पार्टीको पक्षमा लहर चलेको बताएका हुन्। जनताले नेकपालाई पहिलो पार्टी बनाउन खोजेको उनको भनाइ थियो।
‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिस्ट पार्टीलाई। सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ, लहर चलिरहेको छ,’ नेपालले भने।
युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको उनले बताए।
यसको सुरुवात ओखलढुंगाबाट भएको उनको भनाइ थियो।
‘त्यसको अगुवाई ओखलढुंगाले गर्नुपर्छ। यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा,’ नेपालले थपे, ‘यो जिल्लाले पूर्वलाई पनि तरंगित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ। हिमाल, पहाड तराई सबैलाई तरंगित गर्नेछ।’
आउँदो प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले कीर्तिमान कायम गर्ने उनले बताए। त्यसका लागि जनताको भावनाअनुसार अघि बढिरहेको नेपालको भनाइ थियो।
Shares

प्रतिक्रिया