राजनीति


ओखलढुंगा एमाले नेतृत्व नेकपामा समाहित

ओखलढुंगा एमाले नेतृत्व नेकपामा समाहित

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

पार्टीबाट विद्रोह गरेको नेकपा (एमाले) ओखलढुंगाको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ। 

शुक्रबार एक कार्यक्रम आयोजना गरी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सो पार्टीमा भित्र्याएका हुन्।

एमाले ओखलढुंगा कमिटीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेको थियो।

जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी) को नेतृत्वमा पदाधिकारी र सदस्यहरू गरी ३८ जना नेता–कार्यकर्ताले शुक्रबारको मितिदेखि लागू हुनेगरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा जनाएका छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र अहङ्कारी नेतृत्व शैलीका कारण पार्टीभित्र बस्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

विशेष गरी आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा जिल्ला कमिटीको निर्णय र कार्यकर्ताको भावनालाई पूर्ण रूपमा उपेक्षा गरिएको उनीहरूको आरोप छ। जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस भएका नामहरूलाई लत्याउँदै केन्द्रले व्यक्तिगत निकटताका आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद उत्कर्षमा पुगेको हो। 

अध्यक्ष खड्काले जिल्लाको सिफारिसभन्दा बाहिरबाट उम्मेदवार लाद्ने कार्यले स्थानीय मतदाता र कार्यकर्ताको अपमान भएको छ भने यसले पार्टीभित्र लोकतन्त्रको सट्टा निरंकुशता हाबी भएको पत्रकार सम्मेलनमा जानकारी गराए।

राजीनामा दिनेहरूमा उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा र उपसचिव राजिव कटवालसहित प्रदेश कमिटीका सदस्यहरू उमेश कार्की, इच्छाकुमारी गुरुङ र सुरेश थापा समेत रहेका छन्। 

यसैगरी लेखा कमिटीका अध्यक्ष मोहन ढकाल, युवा संघका जिल्ला अध्यक्ष सुदिप कार्की, अनेरास्ववियुका जिल्ला अध्यक्ष विवेक तामाङ र खेलकुद महासंघका जिल्ला अध्यक्ष राजकुमार राईले पनि पदबाट राजीनामा दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

उनीहरूले नेतृत्वले संवाद र सहमतिको सट्टा निषेधको राजनीति गरेको र पार्टीलाई ‘बा’ को साँघुरो घेराभित्र कैद गरेको गम्भीर आरोप लगाएका छन्।

​पार्टीभित्र पटक–पटक सुधार र वैचारिक बहसको माग गर्दा पनि नेतृत्वले बेवास्ता गरेको र उल्टै विधि विपरीत जिल्ला इन्चार्ज यज्ञराज सुनुवारको नेतृत्वमा समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

यस्तो विचलित र संगठन विरोधी निर्णयको हिस्सेदार बनेर राजनीतिक पतनको जिम्मेवारी वहन गर्न नसकिने भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad