नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्किएका छन्। माघ ५ गते झापा आएका ओली ६ गते मनोनयन दर्ता पछि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित थिए।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका ओलीले यो बिचमा मतदाता तथा कार्यकर्तासँग छुट्टाछुट्टै छलफल गरेका थिए।
झापाबाट काठमाडौँ फर्कनु भन्दा पहिला निर्वाचन क्षेत्रमा भएको कार्यक्रममा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका थिए।
झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको शुक्रवार बिहान भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टीपंक्ती जनताको घरघरमा पुग्नु र मतदातालाई एमाले आश्वस्त तुल्याउन आग्रह गरेका थिए।
अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएकोमा जोड दिए। केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न पनि आग्रह गरे। उनले दृढताकासाथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिए।
‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो? अहिले कस्तो छ?’ त्यति बेला धुलाम्मे सडक मात्र थिए। पिच हेर्न राजमार्ग जानुपर्थ्यो’ अध्यक्ष ओलीले भने, ‘अहिले गाउँ टोलसम्म नै पिच सडक पुगेको तपाईँहरूले देख्नुभएको छ। यो एमालेको नेतृत्वले गरेको हो। जनताले यो कुरा बुझेका छन्। तर एक पटक स्मरण गराउनु पर्दछ।’
अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गरेका छन्। नवयुवाहरूले सुरु गरेको आन्दोलन र उठाएका मागहरू नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उनको भनाइ छ।
‘ती घटनाहरू देखाएर एमालेलाई दोषी करार गर्न खोजिँदै छ’ अध्यक्ष ओलीले भने, ‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नुपर्दछ। यसका लागि सम्पूर्ण पार्टीपंक्तीलाई जनताका घरघरमा पुर्याउन हरेक मतदातासँग सम्पर्क बढाऔँ।’
कार्यक्रम सकेर ओली विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्किएका हुन्। उनले विराटनगरमा नेता कार्यकर्तासँग भेटघाट गरेका थिए।
Shares

प्रतिक्रिया