प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक तर्फ डेढ करोड मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छाप्न सुरु गरेको थियो। शुक्रबारसम्म डेढ करोड मतपत्र छापिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
अब सामानुपातिक तर्फको ५० लाख मतपत्र छाप्न बाँकी रहेको छ। त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिने भट्टराईले बताए।
यससँगै आयोगले मतदाता नामावलीको छपाई गरेर सबै जिल्लामा पुर्याइसकेको जनाएको छ। उम्मेदवारी दर्ता प्रयोजनका लागि एक प्रति छपाई गरिएको हो। अझै थप तीन प्रति छपाई गरिने भएको छ।
आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि भने सबै तयारी पूरा भएको जनाएको छ। आयोगले राष्ट्रिय सभा सदस्यको उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेको छ।
यससँगै राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र पनि सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको आयोगले जनाएको छ। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म तोकिएको छ।
Shares

प्रतिक्रिया