राजनीति


यी हुन् २१ फागुनमा आफैँलाई मतदान गर्न नपाउने चर्चित उम्मेदवार

यी हुन् २१ फागुनमा आफैँलाई मतदान गर्न नपाउने चर्चित उम्मेदवार

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १०:४७, काठमाडौँ

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदारसहित प्रमुख दलका वरिष्ठ नेतादेखि स्वतन्त्रसम्मका केही उम्मेदवारले आफैँलाई भोट दिन नपाउने भएका छन्।

आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरका क्षेत्रबाट उम्मेदवारी दिएकाले उनीहरूले आफैँलाई मतदान गर्न नपाउने अवस्था सिर्जना भएको हो। 

निर्वाचनसम्बन्धी कानुनमा आफ्नो मतदाता नामावली रहेकै क्षेत्रबाट उम्मेदवार बन्नेले मात्रै मतदान गर्न पाउने व्यवस्था छ। 

कांग्रेसका नवनिर्वाचि सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले आफैँलाई भोट हाल्न नपाउने भएका हुन्। 

त्यसैगरि नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री प्रदीप पौडेल, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा. शेखर कोइरालालगायतले पनि आफैँलाई भोट हाल्न पाउने छैनन्। 

भावी प्रधानमन्त्रीका दुई दाबेदार एमाले अध्यक्ष ओली र रास्वपाका सभापति बालेन झापा ५ बाट उम्मेदवार बनेका छन्। सम्बन्धित दलले उनीहरूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अहिले मत मागिरहेका छन्। 

तर, एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौँ २ मा छ।

यसपटक निर्वाचन लड्न मधेस झरेका कांग्रेस सभापति थापाको मतदाता नामावली काठमाडौँ ४ मा छ।  थापा सर्लाही ४ बाट उम्मेदवार बनेका छन्। 

त्यसैगरि चितवन ३ मा मतदाता नामावली भएका नेकपाका संयोजक प्रचण्ड यसपटक  रुकुमपूर्वबाट उम्मेदवार बनेका छन्। प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका छन्। 

रास्वपा सभापति रवि लामिछानेको नामावली काठमाडौँ ३ मा छ। तर उनी यसपटक पनि चितवन २ बाट उम्मेदवार बनेका छन्। 

०७९ को निर्वाचनमा चितवन २ बाट विजयी भएका लामिछाने उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। यसपटक  पनि उनी चितवन २ बाटै चुनाव जित्ने दाउमा छन्।  

त्यसैगरि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउने छैनन्। सप्तरी ३ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली भने मोरङ ५ मा छ। 

त्यसैगरि गोरखा २ मा मतदाता नामावली रहेका नेकपाका नेता नारायणकाजी श्रेष्ठ यसपटक सर्लाही ३ बाट उम्मेदवार बनेका छन् भने तनहुँ २ का मतदाता रहेका कांग्रेस महामन्त्री प्रदीप पौडेलले यसपटक पनि काठमाडौँ ५ बाट उम्मेदवार बनेका छन्। ०७९ को निर्वाचनमा पनि पौडेल काठमाडौँ ५ बाटै विजयी भएका थिए। 

गोरखा १ मा मतदाता नामावली रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ बाट उम्मेदवार बनेका छन् । उपनिर्वाचनमा तनहुँ १ बाट विजयी भएका वाग्ले यसपटको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। 

त्यसैगरि काठमाडौँ १ बाट उम्मेदवार बनेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रको मतदाता नामावली ललितपुरमा छ। 

मोरङ ३ का मतदाता रहेका एमाले सचिव भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन् भने मोरङ ४ मा मतदाता नामावली रहेका कांग्रेस नेता डा.शेखर कोइराला मोरङ ६ बाट उम्मेदवार बनेका छन्।  

त्यसैगरि कांग्रेस नेता मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय, एमाले नेता जुली महतो, एमालेकै नेता वासुदेव घिमिरे, प्रमोद यादव, नेकपाका नेता देवेन्द्र पौडेल, प्रेम आले र यसोदा सुवेदीले पनि आफूलाई मतदान गर्न पाउने छैनन्। उनीहरू पनि आफ्नाे नामावली रहेको क्षेत्रभन्दा फरक भूगोलबाट उम्मेदवार बनेका छन्।

त्यसैगरि कांग्रेस नेता विनोद चौधरी, शंकर भण्डारी र अम्मरसिंह पुन पनि फरक क्षेत्रबाट उम्मेदवार बनेकाले यो निर्वाचनमा आफूलाई मतदान गर्न पाउने छैनन्।

त्यसैगरि रास्वपाका पुकार बम, निशा डाँगी, सोम शर्मा र खगेन्द्र सुनारले पनि आफूलाई मतदान गर्न पाउने छैनन्। 

नेमकिपाका उम्मेदवार धनराम जैसी, स्वतन्त्र उम्मेदवार महावीर पुन, श्रम संस्कृति पार्टीका उम्मेदवार लालबहादुर घर्ती, उज्यालो पार्टीका रवीन्द्र मल्ल, जनमतका उम्मेदवार शशीकुमार यादव र आम जनता पार्टीबाट उम्मेदवार बनेका ऋषि धमला लगायतका उम्मेदवारले पनि २१ फागुनको निर्वाचनमा आफूलाई मतदान गर्न नपाउने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad