राजनीति


रविले भने: निर्वाचनको उल्लासमा मिसिन सकिनँ, तिमीहरूको गुन तिर्छु

रविले भने: निर्वाचनको उल्लासमा मिसिन सकिनँ, तिमीहरूको गुन तिर्छु

नेपालखबर
माघ ६, २०८२ मंगलबार १७:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचनको उल्लासमा मिसिन नसकेको भन्दै दुखेसो गरेका छन्।

देशभर उम्मेदवारी मनोनयन भइरहँदा रविविरुद्धको सहकारी ठगी मुद्दामा देशका तीनवटा जिल्लामा मुद्दाको सुनुवाई भइरहेको छ।

त्यसक्रममा पर्सा जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटी माग गरेको छ। 

रविले चितनको क्षेत्र नं २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराउने बताएका छन्। उनी यसअघि सोही क्षेत्रबाट विजयी भएका थिए। 

नागरिकता प्रकरणमा पद गएपछि भएको उपनिर्वाचनमा उनले फेरि जिते। तर, सम्पत्ति शुद्धीकरण मुद्दाका कारण उनले दोस्रो पटक पनि पद गुमाएका थिए। 

लामिछानेले लेखेका छन्, 
देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन। किनकी आजै देशका तीनवटा (पर्सा, काठमाडौँ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ।

अरू अदालतको आदेश आउँदै होला। पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु। चितवन–२ मा मेरा शुभचिन्तक बाटो कुरिरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ। 

म माथि गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन्। देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ।

नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू। मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुन लगाएका छौँ। म तिमीहरू सबैको गुन तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु। 
फेरि पनि भन्छु म अभिमन्यू होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad