सर्लाही २ मा यसपटक पनि मधेसका दुई चर्चित नेता महिन्द्र राय र राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुने भएको छ।
रायले नेकपाबाट र महतोले राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही २ मा दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्।
०७९ को निर्वाचनमा पनि सर्लाही २ मा राय र महतोबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला महतो लोसपा र राय बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट प्रतिस्पर्धी बनेका थिए।
उतिबेला निर्वाचनमा रायले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका थिए।
महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाएका थिए।
२०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो ०७९ सालको निर्वाचनमा आफ्नै गृहजिल्ला सर्लाही फर्किएका थिए। यसपटक पनि उनले निर्वाचन लड्न सर्लाही जिल्ला नै रोजेका हुन्।
राय र महतो दुवै पटकपटक सांसद र मन्त्री भइसकेका नेता हुन्।
महतोको घर सर्लाही क्षेत्र नम्बर १ को चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा पर्छ। राय भने सर्लाही २ कै हरिपूर्वा नगरपालिकाका स्थायी बासिन्दा हुन्।
Shares

प्रतिक्रिया