राजनीति


सम्पत्ति विवरणलगायतका फारम नभर्दा बालेनको मनोनयनमा ढिलाइ

सम्पत्ति विवरणलगायतका फारम नभर्दा बालेनको मनोनयनमा ढिलाइ

दर्ताका लागि आवश्यक कागजात नपुगेपछि बालेन शाह। तस्विरः सुमन सुस्केरा


सुमन सुस्केरा
माघ ६, २०८२ मंगलबार १२:५१, दमक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार बिहान तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका शाहको मनोनयन प्रक्रिया आवश्यक कागजात अपूर्ण हुँदा केही समय प्रभावित भएको थियो।

बिहान ११:१० बजे निर्वाचन कार्यालय पुगेका शाहले उम्मेदवारका लागि अनिवार्य प्रस्तावक र समर्थकको विवरण, फोटो तथा सम्पत्ति विवरणलगायतका फारमहरू नभरी लगेका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाले अघिल्लो दिन नै मनोनयनका फारमहरू लगेको भए पनि कार्यालय पुग्दा ती कागजात तयार थिएनन्।

मनोनयन दर्ताका लागि आवश्यक धरौटी रकम समेत साथमा नभएपछि केही बेर अन्योल उत्पन्न भएको थियो। पछि सुरक्षाकर्मीको सहयोगमा धरौटी रकम संकलन गरी प्रक्रिया अघि बढाइएको थियो। करिब डेढ घण्टाको प्रयासपछि कागजात मिलाएर शाहले दर्ता नम्बर ४ मा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेषराज भट्टराई समर्थक रहेका छन्।

कागजात व्यवस्थापनमा समय लागेपछि शाह केही हडबडाएको देखिएका थिए। मनोनयन प्रक्रिया चलिरहँदा उनी पटक–पटक कार्यकक्ष बाहिर निस्कने र भित्र पस्ने गरिरहेका थिए। कार्यालय बाहिर प्रतिक्षा गरिरहेका समर्थकहरूलाई उनले हात हल्लाएर अभिवादन समेत गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा ५ मा शाहको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ। निर्वाचन कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ भने दमक बजारमा रास्वपा समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad