आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावको लागि मनोनयन प्रक्रिया सुरु भएको छ।
चुनावको मुख्य ‘इपिसेन्टर’ झापा-५ लाई मानिएको छ। किनकि, यो क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिका मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ लगायत उम्मेदवार छन्।
ओलीले २०४८ सालदेखि लगातार चुनाव लडिरहेको क्षेत्रमा रास्वपाले साहलाई भावी प्रधानमन्त्री घोषणा गर्दै चुनाव लड्न पठाएको हो। एमाले पनि ओलीलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको छ।
साहले चुनावमा उम्मेदवारी घोषणा गर्नुअघि त्यहाँको मतदाताको मनस्थिति अध्ययन गरिसकेका छन्। त्यसबाहेक उनले डिजिटल प्रचार अभियानलाई तीव्र पारेका छन्।
निकट नेताहरूका अनुसार उनले डिजिटल प्रचारका लागि दमकमा छुट्टै घर भाडामा लिएर कम्तीमा २३ जनालाई खटाएका छन्।
झापा-५ लाई लक्षित गरी साहको टिमले डिजिटल प्रचारलाई तीव्र बनाएपछि एमाले अध्यक्ष ओलीले पनि आईटी विज्ञहरूको विशेष टोली परिचालन गरेका छन्। ओली निकट एक नेताका अनुसार कम्तीमा २५ जना सूचना प्रविधि विज्ञहरूको टोली बुधबार नै झापा पुग्दै छ।
‘अस्गर अली नेतृत्वमा टिम झापा पुग्छ,’ ती नेताले भने, ‘यो टिमले डिजिटल्ली काम गर्नेछ, सोसल मिडिया ह्यान्डलिङ, कन्टेन्ट क्रिएसन लगायत काम गर्नेछ।’
अली एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा आईटी सल्लाहकार थिए। यो टोलीले ओलीको कार्यकालमा झापा-५ मा भएका विकास निर्माणका कामलाई सामाजिक सञ्जालका विभिन्न माध्यमबाट डकुमेन्ट्री, इन्फोग्राफिक्स र छोटो भिडिओका रूपमा प्रस्तुत गर्नेछ।
परम्परागत चुनावी सभाभन्दा पनि ‘डिजिटल कन्टेन्ट’मार्फत युवा पुस्ताको मन जित्ने बालेनको रणनीतिलाई काउन्टर दिन ओली आफैँले आइटी टोली खटाउने भएका हुन्।
ओलीका लागि झापा-५ सधैँ सुरक्षित क्षेत्र हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले भारी मतान्तरले जित हासिल गरेका थिए। यसपटक मतदाताको मनोविज्ञान फरक भएपछि ओली चुनावी प्रचार रणनीति फेर्ने निचोडमा पुगेका हुन्।
Shares

प्रतिक्रिया