आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको दाबेदारका रुपमा रहेका उम्मेदवारहरू तराई-मधेस पुगेका छन्। जसले गर्दा आगामी प्रतिनिधि सभाको चुनाव तराई-मधेस केन्द्रित हुने देखिएको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन्। नेकपा (एमाले)का अध्यक्ष ओली झापाबाटै चुनाव लड्दै आएका छन्। यस पटक पनि उनी झापा-५ बाट उम्मेदवारी दर्ता गर्दै छन्।
जेनजी आन्दोलनका कारण राजीनामा दिन बाध्य भएका ओली प्रतिनिधि सभाको चुनावमा एमालेको नेतृत्वकर्ता हुन्। एमालेले ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।
माघ ३ मा बसेको एमाले सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको थियो। त्यसकै आधारमा एमालेले चुनावी अभियान सुरु गरेको छ।
गत निर्वाचनमा ओलीले झापा-५ बाट ५२ हजार ३१९ मत पाएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए।
यस पटक रास्वपाबाट झापा-५ मा पोखरेलको ठाउँमा बालेन्द्र साह (बालेन) उम्मेदवार बनेका छन्। काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर झापा पुगेका साहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा उभ्याएको छ।
गत पुस १४ गते साह र रास्वपा सभापति रवि लामिछानेबीच एकता गर्ने सहमति भएको थियो। त्यसमा लामिछानेको नेतृत्वमै रहेर साहलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने उल्लेख थियो। त्यही सहमतिका आधारमा रास्वपाले साहलाई झापा-५ बाट उम्मेदवार बनाएको छ। मंगलबार बिहानै साहले झापा-५ बाट उम्मेदवारी दर्ता गरिसकेका छन्।
सोमबार जनकपुरधाममा आयोजित रास्वपाको पहिलो चुनावी सभामा पनि साहलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। चुनावी सभालाई मैथलीमा सम्बोधन गर्दै साहले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए।
दुई जना प्रधानमन्त्रीका दाबेदार ओली र साह एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएको वेला प्रधानमन्त्रीका अर्का दाबेदार नेपाली कांग्रेसका सभापति गगन थापा पनि तराई झरेका छन्। थापा मधेस प्रदेशको सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन्।
विशेष महाधिवेशनबाट सभापति चयन भएका थापालाई निर्वाचन आयोगले मान्यता दिएसँगै उनैले टिकट वितरण गरिरहेका छन्। कांग्रेसको विवादबीच उनले संघीय राजधानी काठमाडौँ छोडेर मधेसको सर्लाही रोजेका हुन्।
सर्लाही-४ मा रास्वपाबाट अमरेशकुमार सिंह उम्मेदवार छन्। गत निर्वाचनमा उनी यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। लामो समय कांग्रेसमा बिताएका उनी गत निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका सिंहले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै सांसद बनेका थिए।
२०७९ सालको निर्वाचनमा सिंहले २० हजार १७ मत पाएका थिए भने निकटतम् प्रतिस्पर्धी कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए।
तेस्रो नम्बरमा रहेकी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत पाएकी थिइन्। यो क्षेत्रमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले ३०६ मत पाएका थिए।
त्यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसबाट अमरेशकुमार सिंह नै निर्वाचित भएका थिए। त्यतिवेला उनले २९ हजार ६७५ मत पाउँदा प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी नेपालका राकेशकुमार मिश्रले २८ हजार १३६ मत पाएका थिए। त्यतिवेला अन्य उम्मेदवारले हजार मत पनि पाउन सकेका थिएनन्।
कांग्रेस उम्मेदवार थापा भने यसअघि काठमाडौँ-४ बाट निर्वाचित हुँदै आएका थिए। पछिल्लो तीन चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। गत निर्वाचनमा थापा काठमाडौँ-४ बाट २१ हजार ३०२ मत पाएर निर्वाचित भएका थिए।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत पाएका थिए। तेस्रो नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठाकुर मोहन श्रेष्ठले चार हजार ५० मत पाएका थिए।
तीन जना प्रधानमन्त्रीका दाबेदार तराई-मधेसमा प्रतिस्पर्धा गरिरहेका वेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने पहाड उक्लिएका छन्। प्रधानमन्त्रीको दाबेदार भए पनि नेकपाले घोषणा गरिसकेको छैन।
प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवारी दिने भएका छन्। त्यसका लागि उनी सोमबार नै रुकुम पूर्व पुगिसकेका छन्। यसअघि उनी गोरखा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनले २६ हजार १०९ मत पाउँदा प्रतिस्पर्धी रास्वपाका कविन्द्र बुर्लाकोटीले १२ हजार ६२९ मत पाएका थिए।
रुकुम पूर्वमा भने गत निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर निर्वाचित भएका थिए। उनले १२ हजार २६२ मत पाउँदा प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत पाएका थिए। अहिले प्रचण्डले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित १९ दल मिलाएर नेकपा बनाएका छन्।
Shares

प्रतिक्रिया