राजनीति


खोटाङमा खेतीपाती गरिरहेका हरि रोकालाई नेकपाले किन दियो टिकट?

खोटाङमा खेतीपाती गरिरहेका हरि रोकालाई नेकपाले किन दियो टिकट?

सागर न्यौपाने
माघ ५, २०८२ सोमबार २१:३३, काठमाडौँ

काठमाडौँका बौद्धिक मञ्चहरूमा अर्थतन्त्रबारे विश्लेषण गर्दै आएका हरि रोका हिजोआज खोटाङका खेतबारीमा भेटिन्छन्।

अर्थराजनीतिको विश्लेषण गर्न छोडेर २०७८ मंसिरमा उनी आफ्नो पुर्ख्यौली थलो खोटाङको दिप्रुङ चुइचुम्मास्थित याम्खा फर्किएर कृषि कर्ममा लागेका हुन्। 

आफ्नै खेतबारीमा धान, मकै कोदो, अदुवा, कफी लगायतका बालीनाली फलाएका रोकाको हातमा अब कोदालो मात्र छैन, २६ वर्षअघिको एउटा अधुरो सपना र तारा अङ्कित चुनावी झण्डा पनि छ।

२०५६ सालमा हरि रोकाले तत्कालीन नेकपा (माले) बाट संसदीय चुनाव लडेका थिए। त्यसबेला मालेको चुनाव चिह्न पनि तारा नै थियो। त्यो चुनाव उनले जित्न सकेनन्।

त्यसयता २०७८ सम्म वामपन्थी विचार र अर्थराजनीति, समाजवादको पैरवी गर्दै आएका उनले गाउँ फर्किएको चार वर्षपछि सिंहदरबार जाने टिकट पाएका पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उनलाई खोटाङबाट उम्मेदवार बनाएको छ।

‘काठमाडौँबाट फर्किएर सामान्य खेतीपाती गरेर धान, मकै कोदो, अदुवा, बेसार, कफी लगाएर बसेँ। आम मानिसलाई आकर्षित गरिरहेको थिएँ, गाउँमै बस्नुपर्छ भन्ने सन्देश दिइरहेको थिएँ,’ रोकाले नेपालखबरसँग भने, ‘गाउँ फर्किएर खेतीकिसानी गरिरहेको किसानलाई नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले चुनाव लड्न भन्नुभयो, २६ वर्षपछि चुनाव लड्न फेरि तारा चिह्न प्राप्त भयो।’ 

वामपन्थी अर्थतन्त्रका विषयमा काम गर्नुपर्छ भन्ने प्रचण्ड–माधव नेपालको प्रस्तावलाई स्वीकार गरेको उनको भनाइ छ। नेकपाको सदस्य नै नहुँदा पनि विश्वास गरेको उनले बताए। 

‘नेकपाको सदस्य समेत नरहेको, आफ्नै गाउँमा खेती–किसानी गरेर जीविका चलाइरहेको म जस्तो एक स्वतन्त्र नागरिकलाई खोटाङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तारा चिह्नबाट चुनाव लड्न सम्मानसहित अवसर प्रदान गर्नुभएकोमा म नेकपाका नेतृत्व, सम्पूर्ण तह र तप्काका साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ रोकाले भने। 

आफूलाई राजनीतिक अर्थशास्त्री भन्न रुचाउने उनी स्थानीय स्रोत र साधनको परिचालन, कृषिमा आधुनिकीकरण र श्रमको उचित सम्मानलाई नै समाजवादको आधार मान्छन्। उनको वैकल्पिक अर्थतन्त्र पुस्तक प्रकाशित छ। 

‘बौद्धिक, वैकल्पिक अर्थतन्त्रको जानकार, ०४५ सालदेखि हामीले निरन्तरता दिएको नवउदारवादी अर्थराजनीतिको विपक्षमा प्रगतिशील अर्थतन्त्रको विकास गर्न पनि तपाईं पार्लियामेन्टमा आउन जरुरी छ भन्नुभयो,’ रोकाले नेकपाका शीर्ष नेताबाट आएको प्रस्ताव उद्धृत गर्दै थपे, ‘देशको वैकल्पिक अर्थतन्त्र के हुन सक्छ, त्यसका लागि काम गर्न भनेर बोलाउनुभयो। त्यस्तो आग्रहलाई मैले टार्न सकिनँ।’ 

२०६३ सालको अन्तरिम संसदमा पनि रोका सांसद थिए। नागरिक समाज र बौद्धिक क्षेत्रबाट माओवादीले उनलाई संसदमा पठाएको थियो।

त्यसपछि उनी २०६४ सालको पहिलो संविधान सभा सदस्य बनेका थिए। त्यतिबेला पनि प्रत्यक्ष चुनाव जितेर नभई माओवादीको तर्फबाट मनोनीत कोटा (मन्त्रिपरिषद्बाट मनोनयन गरिने २६ जनामध्ये) बाट सभासद बनेका थिए। 

चुनावको लागि मंगलबार देशका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन हुँदैछ। नेकपाले सबै उम्मेदवार टुंगो लगाइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad