राजनीति


छोरालाई टिकट नदिएपछि शिवपुजनले छाडे नेकपा

०७९ को निर्वाचनमा शिवपुजनले वीर अस्पतालकी नर्स छोरी मधुमालालाई अमरेस सिंहसँग भिडाएका थिए
छोरालाई टिकट नदिएपछि शिवपुजनले छाडे नेकपा

नेपालखबर
माघ ५, २०८२ सोमबार २०:४४, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले छोरालाई उम्मेदवार नबनाएपछि सर्लाहीका प्रभावशाली नेता शिवपुजन रायले पार्टी छाडेका छन्।

सर्लाही ४ बाट नेकपाले डा. रजनिस राय लाई टिकट दिएपछि यादवले पार्टी छाडेका हुन्। 

यादवले नेकपा छाडे पनि कुन पार्टीमा प्रवेश गर्ने खुलाइसकेका छैनन्। तर, उनलाई नजिकबाट चिन्ने सर्लाहीका नेता भने जुन पार्टीले उनका छोरालाई टिकट दिन्छ, उनी त्यही दलमा प्रवेश गर्ने सम्भावना रहेको बताउँछन्। 

यादव सर्लाही ४ बाट आफ्ना छोरा अभिनिस यादवलाई नेकपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने गृहकार्यमा थिए। तर, नेकपा संयोजक प्रचण्डले रायका छोरालाई टिकट नदिएर डा.रजनिसलाई टिकट दिएका छन्। 

रजनिस नेकपाकी नेतृ अनिता देवीका छोरा हुन्। 

पूर्व सांसदसमेत रहेका शिवपुजन सर्लाहीम शक्तिशाली मानिन्छन्। यादवकै प्रभावको कारण उनका छोरा राजाबाबु यादव तत्कालीन माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। 

को हुन् शिवपुजन यादव? 

सर्लाहीको रामनगर गाउँपालिका ५ विर्ताटोल निवासी शिवपुजन राय पूर्व सांसदसमेत हुन्।

०६४ सालमा उनी तत्कालीन मधेसी जनअधिकार फोरमबाट संविधान सभा सदस्यमा विजयी भएका थिए।

त्यतिबेला बेला रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गर्दै कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने फैसला गरेपछि उनले विभिन्न निर्वाचनमा कहिले पत्नी, कहिले छोरी र कहिले छोरालाई उम्मेदवार बनाउँदै आएका छन्। 

०७४ मा यादवले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी पत्नी, छोरी र छोरालाई उम्मेदवार बनाउने अभियानमा छन्। 

०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले वीर अस्पतालकी स्टाफ नर्स रहेकी छोरी मधुमालालाई सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएका थिए। तर, उनी स्वतन्त्र उम्मेदवार डा.अमरेश सिंहसँग पराजित बनेकी थिइन्। 

०६४ सालमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाट सर्लाही ४ मा चुनाव लडेका शिवपुजनले तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँगै कांग्रेसका अमरेशकुमार सिंहलाई पनि पराजित गरेका थिए।

०७० मा महेन्द्र राय यादव नेतृत्वको तमसपाबाट निर्वाचन लडेका उनी कांग्रेसका अमरेशकुमारसँग पराजित भए। ०७४ को निर्वाचनअघि उनी प्रतिनिधि सभाको टिकट पाउने सर्तमा तमसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। त्यतिबेला माओवादीले उनलाई सर्लाही ४ मा प्रतिनिधि सभाको टिकट पनि दिएको थियो। 

तर, कूटनीतिक राहदानी दुरुपयोग अभियोग खेपिरहेका शिवपुजनको उम्मेदवारी चुनावको मुखमै निर्वाचन आयोगले खारेज गरिदिएपछि दोस्रोपटक सभासद हुने उनको अपेक्षा पुरा हुन पाएन। उनको उम्मेदवारी खारेजीले त्यतिबेला अमरेशकुमारलाई विजयी हुन सहज भयो। 

रायले छोरा राजाबाबुलाई गाउँपालिका अध्यक्ष र भाइ श्रीनन्दनप्रसाद यादवलाई वडाध्यक्षमा चुनाव लडाएर जिताएका छन्। 

०७९ को निर्वाचनमा शिवपुजनले पत्नी मीनादेवी यादवलाई प्रतिनिधि सभामा माओवादी केन्द्रको समानुपातिक उम्मेदवार बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad