नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यकालमा देशमा भय र त्रासको वातावरण सिर्जना भएको आरोप लगाएका छन्।
झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ओलीले राज्यका महत्वपूर्ण निकायहरू असुरक्षित रहेको बताए।
अध्यक्ष ओलीले पत्रकारहरूले अहिले ‘सेल्फ सेन्सरसिप’ (स्व–निगरानी) गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताए।
‘पत्रकारहरूले पनि आफैँले सेल्फ सेन्सरसिप गर्नुपरेको छ, भययुक्त वातावरण छ,’ उनले भने, ‘कसको पक्षमा वा विपक्षमा लेखिदिनुपर्ने हो, अन्यथा धम्की आउने परिस्थिति सिर्जना गरिएको छ।’
उनले देशको प्रधानन्यायाधीश र निर्वाचन आयोगले समेत त्रासदीपूर्ण स्थितिमा काम गर्नुपरेको र धम्की आएको कुरा सार्वजनिक हुनुले लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको बताए।
सुरक्षा निकाय र सरकारको भूमिका
प्रहरीको मनोबल कमजोर भएको र लुटिएका हतियारहरू अझै फिर्ता नभएको भन्दै ओलीले सरकारको कडा आलोचना गरे।
उनले भने, ‘प्रहरी बस्ने ठाउँ जनताले बनाइदिनुपरेको छ, सरकारले केही गर्न सकेको छैन।’
साथै, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने र अभियोग परिवर्तन गर्ने काम भइरहेकोमा उनले आपत्ति जनाए।
झापाका एसपीको सरुवा प्रसङ्ग उल्लेख गर्दै ओलीले सरकारले निष्पक्ष भूमिका खेल्ने अधिकारीहरूलाई दबाबमा राख्ने गरेको आरोप लगाए।
‘एसपीले निष्पक्ष भूमिका खेल्लान् कि भन्ने डरले उहाँलाई काठमाडौँ तानिएको छ,’ ओलीले भने, ‘एउटा दलले एउटा एसपी र अर्को दलले अर्को एसपीको माग गर्ने प्रवृत्ति देखिएको छ। यसले शान्तिपूर्ण निर्वाचन हुन्छ भन्ने लाग्दैन।’
सरकारले शान्ति सुरक्षा कायम गर्नुको सट्टा दलीय स्वार्थ र शक्ति प्रदर्शनमा समय खर्चिरहेको टिप्पणी गरे।
Shares

प्रतिक्रिया