राजनीति


उम्मेदवारी दिन शीर्षनेता निर्वाचन क्षेत्रमा, ओली झापा, प्रचण्ड रुकुम र रवि चितवनतिर

उम्मेदवारी दिन शीर्षनेता निर्वाचन क्षेत्रमा, ओली झापा, प्रचण्ड रुकुम र रवि चितवनतिर

नेपालखबर
माघ ५, २०८२ सोमबार १७:१९, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावको लागि उम्मेदवारी दर्ता गर्न विभिन्न दलका शीर्षनेता आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् भने केही पुग्ने क्रममा छन्। 

नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र काठमाडौँ-४ हो। यसपटक उनी सोही क्षेत्रबाट उठ्छन कि परिवर्तन गर्छन् भन्ने निश्चित भइसकेको छैन। तर, जहाँबाट उम्मेदवारी दिए पनि आफै उपस्थित भएर मनोनयन गर्ने थापाको तयारी छ। 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार नै झापा पुगेका छन्। ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन गृहनगर पुगेका हुन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि निवार्चन क्षेत्रतिर लागेका छन्। सोमबार दिउँसो उनी हवाईमार्गबाट रुकुम पश्चिम पुगेका छन्। त्यहाँबाट रुकुम पूर्व जानेछन्। यसपटक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवारी दिँदै छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन-२ बाट उम्मेदवारी दिन चितवन फर्किँदै छन्। सोमबार चुनावी सभाका लागि जनकपुर पुगेका थिए। सभालाई सम्बोधन गरेर सिधै चितवन फर्किन लागेका छन्। 

यस्तै, रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेका थिए। जनकपुरमै सभापति लामिछानेबाट टिकट लिएर दमकतिर लागेका छन्। आजै साँझ दमक पुगिसक्ने उनको सचिवालयले जनाएको छ। 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि उम्मेदवारी दिन झापा जाँदै छन्। उनी झापा-३ बाट उम्मेदवारी दिँदै छन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी गएर उम्मेदवारी दिने भएका छन्। उनी सप्तरी-३ बाट उम्मेदवार बन्न लागेका छन्। गत चुनावमा उनी सप्तरी-२ बाट चुनाव लडेका थिए। त्यतिवेला जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निर्वाचित भएका थिए। 

प्रायः सबै दलका शीर्षनेता आफ्नो चुनावी क्षेत्र पुगिसकेका छन्। केही पुग्ने क्रममा छन् भने केही वारेस मार्फत उम्मेदवारी दिने योजनामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad