हङकङवासी नरजित राईको सातौँ कृति सार्वजनिक, जहाँ छ हङकङ र नेपाली माटोको सुगन्ध-चर्चा

हङकङवासी नरजित राईको सातौँ कृति सार्वजनिक, जहाँ छ हङकङ र नेपाली माटोको सुगन्ध-चर्चा

नेपालखबर
माघ ५, २०८२ सोमबार १७:४, हङकङ

हङकङका नेपालीमाझ साहित्यिक छवि बनाएका नरजित राई सातौँ कृति लिएर आएका छन्।

६ दशकको जीवनयात्रामा आधा नेपाल र आधा हङकङमा बिताएका राईले हङकङ र नेपाली माटोको सुगन्ध बोकेर आएका छन्– ‘विभक्त आकाश’मार्फत।

खोटाङ जन्मथलो भएका राई २९ वर्षअघि नेपालको सरकारी जागिर छोडेर हङकङ हानिएका थिए। यसबीचमा सात वटा कृति प्रकाशित गरिसकेका उनको पछिल्लो पटक यात्रा संस्मरण आएको छ। जहाँ लेखकले हङकङ र नेपालका कुनाकन्दरालाई सविस्तार वर्णन गरेका छन्।

३० वटा शीर्षकमा संस्मरण, यात्रा विवरण, जीवनी, साहित्यिक गतिविधि, देश-परदेशको संस्कार, भाषा, लय, भूगोलको परिवेशमा विस्तारित नेपाली समाजमा घटित सजिला-अप्ठ्यारा घटनावलीको यथार्थलाई समेटिएको राई यस कृति आइतबार किरात राई यायोक्खा हङकङको एक कार्यक्रममा सार्वजनिक गरिएको हो।

कार्यक्रममा यायोक्खा हङकङले लेखक राईलाई ताम्रपत्रसहित सम्मान गरेको थियो।

किरात राई यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली आदिवासी जनजाति महासङ्घका महासचिव रविन लिङ्‌देन प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशेष अतिथि र प्रमुख वक्ताका रूपमा हङकङ साहित्यिक साझा शृङ्खलाका सल्लाहकार रमण गुरुङ उपस्थित थिए।

राईको यसअघि नियात्रा सङ्‌ग्रह ‘आकाश खोज्दै जाँदा’ र ‘समुद्रमाथिको सहर’, कविता सङ्‌ग्रह ‘मनोबिम्ब’ (नेपाली र अंग्रेजी) र ‘मनका नदीहरू’, संस्करण सङ्ग्रह ‘नसकिने बाटो’, दस्तावेज सङ्‌ग्रह ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म’ गरी ६ वटा कृति प्रकाशित छन्।

यसैगरी, गएको बिहीबार यायोक्खा, नेपालले ‘नरजित राई सांस्कृतिक अनुसन्धान पुरस्कार २०८२’ पुरस्कार वितरण समारोह आयोजना गरेको थियो।

कार्यक्रममा डा. मिवित दाहाल उक्त पुरस्कारबाट सम्मानित भए। दाहालले किरात राई समुदाय अन्तर्गतको भाषिक समुदाय लोहरुङ राई जातिमा केन्द्रित भई आदिवासी ज्ञान प्रणालीअनुसार कसरी द्वन्द्व व्यवस्थापन हुन्छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयबाट ‘इन्डिजिनियस कन्फ्लिक्ट रिजोलुसन मेकानिज्म : लोहरुङ राई कम्युनिटी’ शीर्षकमा विद्यावारिधी गरेका थिए।

दाहाललाई नगद रु. ३० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको थियो। यस कृतिका लेखक राईले केही वर्षअघि आफ्नै नाममा खडा गरिदिएको अक्षयकोषबाट दाहाल पुरस्कृत भएका हुन्। राईले ‘किरात राई यायोक्खा, नेपाल’मा चार लाख रुपैयाँ साँवा राखेर ‘नरजित राई इतिहास संस्कृति अनुसन्धान पुरस्कार कोष-२०७९’ खडा गरेका छन्।

कोष खडा भएपछि यो पुरस्कार पाउने दाहाल तेस्रो व्यक्ति हुन्। यसअघि वि.सं. २०८० मा प्रा. दिनेशराज पन्त र २०८१ मा प्रा.डा. टंकप्रसाद न्यौपाने पुरस्कृत भएका थिए। पन्त र न्यौपानेलाई जनही ४० हजार रुपैयाँ र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो।

किरात राईहरूको इतिहास र संस्कृतिबारे खोज अनुसन्धान गर्ने एक जना अनुसन्धातालाई यो कोषबाट बर्सेनि पुरस्कृत गर्ने गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .