राजनीति


देउवाको समर्थनमा उत्रिए ओली: ‘सडकमा कसैले बहुमत पुर्‍याएँ भन्दैमा हुन्छ?’

देउवाको समर्थनमा उत्रिए ओली: ‘सडकमा कसैले बहुमत पुर्‍याएँ भन्दैमा हुन्छ?’

केही समय अगाडि महासचिव शंकर पोखरेलका साथमा ओली देउवा निवास पुगेका थिए।


नेपालखबर
माघ २, २०८२ शुक्रबार १८:१, काठमाडौँ

नेपाली कांग्रेसभित्र आधिकारिकताको विवादमा प्रमुख राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको पक्ष लिएका छन्। असली कांग्रेस को हो भनेर निर्वाचन आयोगमा बहस भइरहँदा ओलीले सार्वजनिक मञ्चहरूबाट देउवाको कानुनी दाबीलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका हुन्।

‘नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ? ४, ५ वर्ष कार्यकाल सकिएर महाधिवेशनको मिति तोकिएको थियो। कसले बोलाउने भन्ने पनि त थिति होला नि ?’, शुक्रबार राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले भने। 

गगन थापा नेतृत्वको समूहले आह्वान गरेको विशेष महाधिवेशनबाट पुर्‍याइएको बहुमतलाई ओलीले ‘अवैधानिक’ र ‘थिति बाहिरको खेल’को संज्ञा दिए। एमालेको एउटा कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक विवादमा अर्थपूर्ण टिप्पणी गरेका हुन्। उनको प्रश्न थियो, 'कसैले सडकमा मान्छे जम्मा गरेर बहुमत पुर्‍याएँ भन्दैमा पार्टीको वैधानिकता प्राप्त हुन्छ?'

'बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने? यसको त निश्चित थिति होला नि!,' कांग्रेसको गगन समूहलाई लक्षित गर्दै उनले भने, 'सडकको भीड हेरेर बहुमत-अल्पमतको टुङ्गो लाग्दैन।'

यसअघि पनि पुस २९ गते पनि ओलीले गगन पक्षले संकलन गरेको हस्ताक्षर र विशेष महाधिवेशनको तयारीलाई ‘केटाकेटीपन’ र ‘बालहठ’ को संज्ञा दिएका थिए। 'पार्टी चलाउने विधि र विधान हुन्छ। विधिको बाटो हिँड्न नसक्नेहरूले गर्ने दाबीहरू कपोलकल्पित र भ्रमपूर्ण छन्,' उनले भनेका थिए, 'यस्तो अराजकताले लोकतन्त्रलाई नै गिज्याइरहेको छ।'

निर्वाचन आयोग परिसरमा दुवै पक्षका कार्यकर्ताबीच रस्साकस्सी चलिरहँदा ओलीको यो ‘देउवा समर्थन’ले चुनाबी समिकरण र आगामी राजनीतिक ध्रुवीकरणमा समेत प्रभाव पार्ने अड्कलबाजी हुन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad