नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफलमा बोल्दै विश्वकर्माले सामाजिक सञ्जाललगायतमा सूचना प्रविधिको दुरुपयोग बढेकाले निर्वाचन आयोगले नियन्त्रण गर्न आवश्यक रहेको बताए।
‘सूचना प्रविधिको दुरुपयोगलाई नियन्त्रण, नियमन र व्यवस्थापन गर्ने क्षमता निर्वाचन आयोगले राख्नुपर्छ भन्छु म। छ कि छैन भनेर प्रश्न गर्दिनँ,’ उनले भने।
नेता विश्वकर्माले सूचना प्रविधिको दुरुपयोग हुन नदिनका लागि निर्वाचन आयोगले अन्तराष्ट्रिय पर्यवेक्षकको व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे।
‘विगतको निर्वाचन हेर्दा अहिले कस्तो भएको छ भने सामाजिक सञ्जालमा कृतिम फेसबुकमा सर्भेक्षण फलानो प्रधानमन्त्री। मानिसलाई अनुहार आउँछ मैले त फलानोलाई भोट हाल्ने भए भएर भनेर। यो निर्वाचन शब्दको को नै उपहास भयो,’ उनले भने, ‘‘साईवर ब्युरो, बाह्य परिवेक्षकहरूलाई बोलाएर भए पनि यो काम गरौँ।’
नेता विश्वकर्माले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगलाई आग्रह गरे। ‘अर्को यो मुलुकमा सबैभन्दा बढि दुरुपयोग भएको छ भने राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ। सिंहदरबार जलाउँदा पनि राष्ट्रिय झण्डा, सर्वोच्च अदालत जलाउँदा पनि राष्ट्रिय झण्डा, राष्ट्रपतिलाई आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झण्डा। त्यसकारण यो राष्ट्रको झण्डालाई प्रतिस्पर्धामा उतार्न दिनु भएन,’ उनले भने।
Shares

प्रतिक्रिया