राजनीति


झापा ५ मा विश्वदीप पनि मैदानमा, भन्छन् : बालेनलाई स्वागत, तर ओलीलाई हराउने गोप्य सूत्र मसँग मात्रै छ

बालेनले दोहोर्‍याउन सक्लान् १६ वर्षअघिको विश्वदीपको त्यो चामत्कारिक जित?
झापा ५ मा विश्वदीप पनि मैदानमा, भन्छन् : बालेनलाई स्वागत, तर ओलीलाई हराउने गोप्य सूत्र मसँग मात्रै छ

अनिल यादव
माघ २, २०८२ शुक्रबार ७:२८, काठमाडौँ

नेपाली राजनीतिको मानचित्रमा झापा क्षेत्र नम्बर ५ खास ठाउँ हो। यो क्षेत्रले देशलाई प्रधानमन्त्री दियो, प्रभावशाली नेता दियो, तर यही क्षेत्रमा शक्तिशाली नेताको जगलाई एउटा सामान्य युवाको इमानले हल्लाइदिएको थियो।

आज यो क्षेत्र फेरि चर्चामा छ। चर्चाको केन्द्रमा छन्— एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँबाट झापा झर्न लागेका बालेन शाह। तर, यो नयाँ भिडन्तको पृष्ठभूमि बुझ्न हामीले २०६४ सालको त्यो ऐतिहासिक संविधानसभा निर्वाचन र विश्वदीप लिङ्देनको विस्मयकारी जित सम्झनुपर्छ। 

त्यतिखेर देशमा शान्तिको नयाँ घाम लाग्दै थियो, तर राजनीतिक अन्योलका बादलहरू अझै हटेका थिएनन्। पहिलो संविधानसभाको निर्वाचनको घोषणा हुँदा झापा क्षेत्र नम्बर ७ (हालको ५) मा एउटा यस्तो भिडन्तको तय भयो, जसलाई धेरैले ‘एकतर्फी’ मानेका थिए।

एकातिर थिए— वाकपटुताका धनी, जेलनेल भोगेका र एमालेका शक्तिशाली हस्ती केपी शर्मा ओली। अर्कोतिर थिए— जनयुद्धको रापतापबाट आएका, तर संसदीय राजनीतिमा बिल्कुलै अपरिचित युवा विश्वदीप लिङ्देन। त्यतिबेला झापाका गाउँ–बस्तीमा एउटै चर्चा हुन्थ्यो– ‘यो केटोले ओलीलाई हराउला र?’

त्यतिबेला मान्छेहरू उनलाई भन्थे– ओलीलाई पनि कसैले हराउन सक्छ र? विश्वदीप आज पनि ती दिनहरू सम्झिँदा निकै भावुक र गम्भीर सुनिन्छन्। 

अनि भन्छन्, ‘के ओली भनेको देउता हुन् र? मैले त्यतिबेलै भनेको थिएँ– ओली देउता होइनन्, उनी पनि जनताको मतबाट छानिने प्रतिनिधि हुन्। र, यदि जनताले चाहे भने देउता मानिएकाहरू पनि ढल्छन्।’

त्यो चुनावमा ओलीको आत्मविश्वास यति उच्च थियो कि उनले विश्वदीपलाई आफ्नो प्रतिस्पर्धी नै ठानेका थिएनन्। 

विश्वदीप सम्झिन्छन्, ‘ओलीजीले भन्नुहुन्थ्यो— म त जितेर आएको मान्छे, यो भर्खरको भाइ छ, केटो छ, यसले मलाई के हराउँथ्यो र? तर उहाँले जनताको भित्री मनोविज्ञान पढ्न सक्नुभएन।’

लिङ्देनलाई विश्वास थियो– जनताले नेताको कद होइन, उसको इमान र उसले बोकेको परिवर्तनको एजेन्डा हेर्छन्। अन्ततः जब परिणाम आयो, ओली १ हजार १४० मतले पछारिए। त्यो हारले ओलीलाई मात्र होइन, सिंगो एमाले पङ्क्तिलाई नै मर्माहत बनाएको थियो। विश्वदीप लिङ्देन त्यही नाम बन्यो, जसले नेपाली राजनीतिमा जस्तोसुकै शक्तिशालीलाई पनि जनताले ठेगान लगाउन सक्छन् भन्ने नजिर स्थापित गरिदियो। 

लिङ्देन भन्छन्, ‘जनताको राजनीति गर्ने मान्छेलाई जनताले नै जिताउँछन्। जसले जनतालाई ढाँट्ने, छल्ने काम गर्छ, उसलाई जनताले समय आएपछि ठेगान लगाउँछन्।’ 

२०६४ को त्यो पराजयपछि ओलीले झापा–५ लाई आफ्नो प्रतिष्ठाको विषय बनाए। त्यसपछिका निर्वाचनहरूमा उनले यस क्षेत्रमा आफ्नो पकड यति मजबुत बनाए कि मानौँ, यो क्षेत्र उनको अभेद्य किल्ला हो। २०७९ को आम निर्वाचनसम्म आइपुग्दा ओलीले ५२ हजार ३१९ मत ल्याएर झण्डै ३० हजारको मतान्तरले जित हासिल गरे।

तर, के यो जित केवल ओलीको व्यक्तिगत क्रेज मात्र थियो? विश्वदीप यसलाई अर्कै नजरले हेर्छन्। 

‘ओलीले अहिले ३० हजारको मतान्तरले जितेको भन्नु एउटा मिथक मात्र हो। त्यो मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ठूलो हिस्सा जोडिएको छ। एमाले एक्लै लड्ने हो भने झापा–५ मा उसको हविगत २०६४ को जस्तै हुन पनि सक्छ,’ उनले भने।

वास्तवमा तथ्याङ्कले पनि त्यही भन्छ। राप्रपाको ७ हजारभन्दा बढी मत र एमालेको संगठित मत जोडिँदा ओली बलिया देखिएका हुन्। तर, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ल्याएको १८ हजार २०५ मतले झापा–५ को भित्री सतहमा परिवर्तनको लाभा उम्लिरहेको संकेत गर्छ।

बालेनले दोहोर्‍याउन सक्लान् त्यो चामत्कारिक जित?
अहिले झापा–५ मा बालेन शाहको चर्चा त्यसैगरी चुलिएको छ, जसरी २०६४ मा विश्वदीपको थियो। काठमाडौँको मेयर निर्वाचित बालेन आगामी माघ ४ गते राजीनामा दिएर रास्वपाको घण्टी घर प्रवेश गर्ने तयारीमा छन्।

विश्वदीप बालेनको यो साहसिक कदमलाई रोचक मान्छन्। 

उनी भन्छन्, ‘अहिले मान्छेहरूले बालेनलाई दोस्रो विश्वदीप बन्ने लाइनमा रहेको भनिरहेका छन्। म बालेनलाई हार्दिक स्वागत गर्छु। एउटा नेपाली नागरिकले देशको जुनसुकै कुनामा गएर चुनाव लड्न पाउनु उसको लोकतान्त्रिक अधिकार हो।’ 

बालेन र रवि लामिछानेले माघ ५ गते जनकपुरबाट सुरु गर्ने चुनावी यात्राको गन्तव्य झापा–५ नै हुने देखिएको छ। 

लिङ्देन थप्छन्, ‘ओलीलाई चुनौती दिन सक्ने साहस बालेनमा देखिनु राम्रो कुरा हो। तर, दोस्रो विश्वदीप बन्नका लागि फेसबुकको चर्चाले मात्र पुग्दैन, जनताको दुःख–सुखमा भिजेको र इमानको राजनीति गरेको हुनुपर्छ।’ 

राजनीतिमा असम्भव शब्दको अस्तित्व हुँदैन भन्ने कुराको जीवित प्रमाण हुन्— विश्वदीप। १६ वर्षअघि उनले जब केपी शर्मा ओलीलाई पराजित गरे, त्यो केवल एउटा भवितव्य थिएन। लिङ्देनको दाबी छ– उनीसँग ओलीको ‘राजनीतिक दम्भ’लाई परास्त गर्ने एउटा यस्तो ‘गोप्य सूत्र’ छ, जुन अहिलेसम्म अरू कसैले फेला पार्न सकेका छैनन्। 

भन्छन्, ‘ओलीजीलाई हराउन कुनै जादु चाहिँदैन, केवल झापा–५ का भुइँमान्छेको मनोविज्ञान बुझे पुग्छ। उहाँ बाहिर जति शक्तिशाली देखिनुहुन्छ, भित्र उहाँको जग उति नै कमजोर छ।’

लिङ्देनका अनुसार ओलीलाई हराउने पहिलो सूत्र हो— अजेय हुनुको भ्रमलाई तोड्नु। जब मतदाताले ओली पनि हार्न सक्छन् भन्ने बुझ्छन्, तब आधा लडाइँ त्यहीँ जितिन्छ।

दोस्रो सूत्रका रूपमा उनी इमान र सादगीलाई अघि सार्छन्। लिङ्देनको विश्लेषण छ— झापा–५ का जनताले अब विकासका ठूला गफ र भ्यु टावरको सपनाभन्दा आफ्नो सुख–दुःखमा साथ दिने आफ्नै मान्छे खोजिरहेका छन्। 

‘मैले त्यतिबेला ओलीजीको अहंकारी भाषालाई मेरो इमानदार मौनताले जवाफ दिएको थिएँ। आज पनि ओलीजीलाई हराउन त्यही इमानको राजनीति चाहिन्छ, जुन सूत्र मसँग सुरक्षित छ,’ उनले भने। 

विश्वदीप आज पनि उत्तिकै सरल छन्। 

भन्छन्, ‘म आज पनि आधा पेट खाएर, फाटेको जुत्ता लगाएर हिँड्न तयार छु, तर देश र जनताको शिर झुक्ने काम कहिल्यै गरिनँ र गर्दिनँ। भ्रष्टाचारमा नमुछिएको एउटा सफा राजनीतिज्ञ हुनु नै आफ्नो सबैभन्दा ठूलो पुँजी हो।’

झापा–५ को यो निर्वाचन क्षेत्रले फेरि एक पटक देशैभरिकै ध्यान खिच्ने निश्चित छ। एकातिर दशकौँदेखि पार्टी र सरकारमा राज गरिरहेका ओलीको विरासत छ, अर्काेतिर नयाँ पुस्ताको आशा बनेर आएका बालेन छन्। अनि पृष्ठभुमिमा २०६४ को त्यो इतिहास छ, जसले भन्छ— मैदानमा को कति ठूलो छ भन्ने कुराले अर्थ राख्दैन, जनताको मनमा को छ भन्ने कुराले मात्र नतिजा बदल्न सक्छ।

के बालेनले १६ वर्षअघिको विश्वदीपको त्यो चामत्कारिक जितलाई दोहोर्‍याउन सक्लान्? या ओलीले आफ्नो किल्ला झन् बलियो बनाऊलान्? यसको उत्तर आगामी फागुन २१ गते झापा–५ का मतदाताले नै दिनेछन्। तर एउटा कुरा निश्चित छ— झापा–५ को माटोले फेरि एक पटक नयाँ इतिहास लेख्ने अवसर पाएको छ। 

झापा–५ को चिया बगानमा चल्ने सिरसिरे हावाले अहिले एउटा नयाँ कथाको सुसेली हाल्न थालेको छ। के बालेन शाहले विश्वदीपको त्यो १६ वर्ष पुरानो इतिहासलाई नयाँ कलेवरमा फर्काउलान्? 

लिङ्देनलाई लाग्छ– ‘जनताको एजेन्डा बोक्ने मान्छेले नै जित्ने हो। जसले जनतालाई ढाँट्ने काम गर्छ, उसलाई समयले हराउँछ।’

फेरि मैदानमा उत्रिने हुटहुटी : इतिहास दोहोर्‍याउन म तयार छु
विश्वदीप केवल इतिहासको संस्मरण सुनाएर बस्ने रिटायर्ड खेलाडी बन्न चाँहदैनन्। उनीभित्र फेरि एकपटक ओलीको विरासतसँग सिधा सिगौँरी खेल्ने तीव्र भोक छ। ०७४ को चुनावअघि पार्टी परिवर्तन गरेर कांग्रेसमा प्रवेश गरेका उनी अहिले नेपाली कांग्रेसको महासमिति सदस्य र भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। ओलीविरुद्ध बालेन आउँदै गर्दा उनी पनि आफूलाई यसपटक झापा–५ मा शक्तिशाली दाबेदारका रूपमा उभ्याउन चाहन्छन्।

‘के तपाईं फेरि चुनाव लड्नुहुन्छ?’ भन्ने प्रश्नमा हाल कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर रहेका उनी आत्मविश्वासका साथ भन्छन्, ‘म ८० प्रतिशत कन्फर्म छु कि यसपटकको मैदानमा म उत्रिन्छु। मैले यसअघि साथीहरूलाई मौका दिएँ, तर यसपटक परिस्थिति फरक छ। ओलीजीलाई कसरी तह लगाउनुपर्छ भन्ने कुराको अनुभव र साहस मसँग मात्र छ।’

लिङ्देनको यो दाबेदारीले झापा–५ को चुनावी समीकरणलाई थप रोचक बनाएको छ। उनी बालेन शाह वा अरू नयाँ शक्तिलाई स्वागत त गर्छन्, तर ओलीको नसा छाम्ने खुबी भने आफूसँग मात्र रहेको दाबी गर्छन्। उनलाई विश्वास छ– पार्टीले विश्वास गरेर उनलाई मैदानमा उतार्‍यो भने ०६४ को त्यो गौरवशाली इतिहास फेरि दोहोरिनेछ। 

भन्छन्, ‘म पार्टीको बफादार सिपाही हुँ, तर झापा–५ को माटोले फेरि एकपटक विश्वदीप खोजिरहेको छ। म त्यो चुनौती स्वीकार गर्न मानसिक र राजनीतिक रूपमा पूर्ण तयार छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad