गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको भएको तालमेल कायम रहने जनाएको छ।
काग्रेसको बुधबार सम्पन्न विशेष महाधिवेशनले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयले राष्ट्रिय सभा चुनाव एमालेसँग गरेको तालमेल के हुन्छ भन्नेमा चर्चा भइरहेको छ।
नवनिर्वाचित कांग्रेसका प्रवक्ता देवराज चालिसेले यसअघि पार्टीसँग भएका सबै निर्णय अस्वीकार नगरिने बताए। ‘पुरानो पार्टीले गरेको निर्णयहरू स्वतः ग्रहण गर्नै पर्छ,’ उनले नेपालखबरसँग भने, ‘कतिपय कुराहरू पुनरावलोकन गर्ने सुविधा छ तर निर्वाचनमा गइसकेका कुरामा त्यति सान्दर्भिक हुँदैन। पार्टीले निर्णय गरेअनुसार नै जाने हो, सहयोग गर्ने हो।’
राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच तालमेल गर्ने सहमति भएको थियो। त्यही सहमतिका आधारमा तीनै पार्टीले उम्मेदवारी दिएका थिए।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदै छ। सातै प्रदेशबाट १८ जना सदस्यका लागि गत महिनानै उम्मेदवारी दर्ता भइसकेको छ। त्यसमा कांग्रेसका ९, एमालेका ८ र जसपा नेपालका १ उम्मेदवार छन्।
कांग्रेसले कोसी प्रदशट सुनीलबहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण तथा बागमती प्रदेशबाट गीता देवकोटालाई उम्मेदवार बनाएको छ। त्यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती कांग्रेसका उम्मेदवार छन्।
यसैगरी, एमालेका कोसी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बनेका छन्।
जसपा नेपालले मधेस प्रदेशबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उपेन्द्र यादवको जसपा नेपालसँग एकीकरण गरेपछि ठाकुर राष्ट्रिय सभाका उम्मेदवार बनेका हुन्।
Shares

प्रतिक्रिया