राजनीति


मीनपचासको जाडोमा चिप्लिएका शेखर

‘यात्रुसहितको डुंगालाई मझधारमा छाड्नेहरू नेता हुँदैनन्!’
मीनपचासको जाडोमा चिप्लिएका शेखर

वाशुदेव मिश्र
माघ १, २०८२ बिहिबार १७:२८, पोखरा

मीनपचास (मंसिर २१ देखि माघ १०) सम्म माछालाई पनि जाडो हुन्छ रे! नेपाली शब्दकोष त्यही भन्छ। तर,२०८२ सालको मीनपचासको उत्तरार्धतिर काठमाडौं खाल्डोको भृकुटीमण्डपमा उखर्माउलो भयो।

त्यही रापतापले झण्डै ८० वर्षे पुरानो पार्टी नेपाली कांग्रेस औपचारिक रुपले विभाजित बन्यो। भृकुटीमण्डपको विशेष महाधिवेशनले युवा(?) नेता गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दा पुरानो कांग्रेसले उनीसहित अर्का नेता विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरलाई कारबाहीको डण्डा चलायो। 

अहिले शेरबहादुर देउवा नेतृत्वको बुढो कांग्रेस र गगन नेतृत्वको युवा कांग्रेस दुवैले आधिकारिता दाबी गरिरहेका छन्। यो विवाद त्यत्तिकै टुंगिने छाँट छैन र दुवै समूह न्यायालयसम्म पुग्ने हतारोमा देखिन्छन्। सुरुमा निर्वाचन आयोग र तत्पश्चात न्यायालयले दिने  आदेशले नै यी दुई समूहको दिशा र बेग निर्धारण गर्नेछ।

अपितु, यति चाहिँ भन्न सकिन्छ–मीनपचासको अत्यमा आएको ‘हुरी’ले एउटा बुढो सिमलको रुखलाई नराम्रोसँग हल्लाएको छ। र,यो झोक्काले डा. शेखर कोइरालालाई चाहिँ उठ्न कठीन हुने खाडलमा पुर्‍याइदिएको छ। 

हतारोमै गरिएको टिप्पणी कांग्रेसीजनलाई छुद्र लाग्न सक्छ। तर,गगन–विश्वप्रकाशहरूको विद्रोहले कांग्रेसमा कोही बढारिएका छन् भने ती निःसन्देश डा. शेखर नै हुन्। शेरबहादुर देउवासँग गुमाउन केही बाँकी थिएन। पार्टीको विधानले नै उनलाई राजनीतिक जीवनको उत्तरार्धमा धकेलेको थियो। कानुनी बन्देज नरहेकाले प्रधानमन्त्रीको चाह राख्न चाहिँ उनी स्वतन्त्र थिए।

नत्र, पाउन र गुमाउन केही बाँकी थिएन। ज्योतिषी (ज्योतिष शास्त्र हैन)मा जस्तै इश्वरमा पनि मन गढेको भए अभिभावकीय भूमिकाको हकदार थिए। तर, प्रधानमन्त्री बन्ने अतृप्त चाह बुझेका आसेपासेले देउवालाई उकासे। गगन– विश्वप्रकाशको युगचेतले भरिएको आग्रहलाई धम्की र बाह्य चलखेलको रुपमा अर्थ्याए। तन–मन गलित भएका बुढा देउवा लहलहैमा लागे। जेन–जी आन्दोलनमा भएको हमलाको बदला त्यागबाट सम्भव छ भन्ने सत्यबाट टाढिए अनि एमाले अध्यक्ष केपी ओलीजस्तै प्रतिशोधपूर्ण भावनामा बहकिए।

पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर पार्टीको सक्रिय राजनीतिबाट सन्यास लिएका देउवालाई उचाल्नेहरू को–को हुन् र उनीहरूको के स्वार्थ थियो भन्ने जगजाहेरै छ। त्यो हुलमा शेखर पनि सामेल भए। शक्ति आर्जनका निम्ति आफैंले देश दौडाहामा निकालेका गुरुराज घिमिरे, देवराज चालिसेहरूलाई बीच बाटोमै छाडे। निगाहमा बक्स भएको ३ थान राष्ट्रिय सभा सदस्यमा धित छाडे। रुपान्तरण र पुस्तान्तरणको मुद्दाप्रति आँखा चिम्ले। अनि राजाले देउवामाथि लगाएजस्तै कार्यकर्ताबाटै ‘अक्षम’को पगरी गुथ्न अभिषप्त बने।

शशांकले राजनीति पारिवारिक विरासतबाट प्राप्त गरेकोमा कुनै द्विविधा छैन। कांग्रेसका संस्थापक बीपी कोइरालाका दाजु केशव र भाउजू नोनाका सूपुत्र शेखरले जेल–नेल सहनु परेन। २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेसँगै विद्रोहमा होमिँदा उनी सानै थिए। केही पाका रामचन्द्र पौडेलहरू बीपी सरकार बर्खास्त भएपछि आजीवन क्रान्तिकारी बने पनि सशांकलाई परिवारले त्यता लगाएन।

उनले भारतमा डाक्टरी पढ्ने अवसर पाए। उनको महिमागान गाउनेहरू भन्छन्,‘भारतमै डाक्टरी पढ्नेबेला जेलमा रहेका बीपीलाई भारतीय नेताका चिठीहरू पुर्‍याउने काम ‘शेखर दा’बाटै भएको हो।’

यो दाबीतर्फ नजाऊँ। परिवारको सदस्य भएको नाताले पनि त्यो शेखरको दायित्व र कर्तव्य दुवै थियो भन्ने चाहिँ सम्झौँ। तर, २०४६ सालको राजनीतिक परिवर्तनको बेलासम्म शेखर साँच्चैको डाक्टर भइसकेका थिए। अहिलेजस्तो पार्टीपिच्छे पेशागत संगठन नखुलेको बेला कांग्रेसको शुभेच्छुक भएर उनले जनआन्दोलनलाई कति सघाए? त्यो पनि नखोजौँ तर २०४६ सालको परिवर्तनपछि भने साँच्चै उनी धेरेको लागि शक्तिशाली कोइराला परिवार अनि खासगरी गिरिजाप्रसाद कोइरालाको नजिक हुने माध्यम बने। 

शेखरसँग दुःखसाथ पढेर आर्जेको डाक्टरीको प्रमाणपत्र थियो। पाल्पा र कोसी अञ्चल अस्पतालमा काम गरेको अनुभव थियो। उनी आफ्नो दक्षता अनुरुप चिकित्सा क्षेत्रको जुनसुकै पदमा पुग्न पनि काबिल थिए। तर, २०४९ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त हुँदा उनीमाथि कोइराला परिवारको सदस्य भएकैले पद पाएको आरोप लाग्यो। हुन पनि त्यो बेला विश्वविद्यालय ऐन २०५९ अनुसार कुलपति प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै थिए। 

आफ्ना दाजु बीपीको नाममा स्थापित प्रतिष्ठानमा भतिजलाई नियुक्त गरेको आरोपबाट उनी पनि मुक्त भएनन्। उपकुलपति रहँदा अब्बल कामले पनि उनलाई वंशवादको आरोपबाट मुक्ति मिलेन। भन्नेहरू अझै पनि भन्छन्,‘शेखरले राजनीतिमा फालहाल्ने सपना नै त्यहीँ हुर्काए! डा. सुन्दरमणि दीक्षितहरू राजीनामा दिने अवस्थामा पुगे।’

२०५९ साल माघ १९ गते राजाले प्रत्यक्ष शासनमा हात हालेपछि नेपाली कांग्रेस र तत्कालीन विद्रोही माओवादीबीच सहकार्यको वातावरण बन्यो। त्यो बेलासम्म पनि डा.शेखर प्रत्यक्ष राजनीतिमा होमिइसकेका थिएनन् तर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई ‘संवाद सूत्र’ को रुपमा प्रयोग गर्न थालिसकेका थिए। माओवादीसँगको बहुचर्चित १२ बुँदे दिल्ली सम्झौता (२०६२ मंसिर ७ गते) का निम्ति भारत जाँदा डा. शेखर गिरिजाप्रसादसँगै चाहिँ थिए। 

उनी गिरिजा कोइराला जीवित हुँदैमा राजकीय पदमा पुग्न चाहन्थे।

‘उहाँलाई गिरिजा बाबुले संसदमा मनोनित गर्न तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँगै कुरा गर्नुभएको थियो तर बीचमा कुरा रोकियो,’उनी निकट एक नेताले कुनैबेला सुनाएका थिए,‘त्यो बेला खासमा सुशील दा (सुशील कोइराला) को असहयोग पनि होजस्तो लाग्छ।’

साँच्चै कोइराला परिवारलाई बुझ्नेहरू भन्छन्,‘शेखर र सुशील कोइरालाबीच हार्दिकता थिएन। त्यसैले सुशील कोइराला कार्यवाहक सभापति बनेदेखि शशांक दाजुहरूले मौका पाउन थाल्नुभयो।’

हुन पनि त्यस्तै भयो। कांग्रेसको १३ औं महाधिवेशनमा डा. शशांक कोइराला महामन्त्रीका उम्मेदवार बने। शेखर केन्द्रीय सदस्यमा सीमित बने। १४ औं महाधिवेशनमा उनले सभापतिको रुपमा शेरबहादुर देउवासँग प्रतिस्पर्धाको अवसर त पाए तर ९०७ मतले उनी देउवाभन्दा पछि परे।

उनले महाधिवेशनमा प्राप्त गरेको मत ४०.१३ थियो। दोस्रो चरणमा धकेलिएको निर्वाचनका क्रममा सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ हालका राष्ट्रपति रामचन्द्र पौडेलले देखिने गरी नै देउवालाई समर्थन जनाएका थिए भने बीपीपुत्र डा.शशांकले भित्रभित्रै देउवाको अभियानलाई साथ दिएका थिए। 

शेखरलाई त्यो बेला बलियो साथ दिनेहरूमध्ये उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, दलिततर्फ सहमहामन्त्रीमा जीवन परियारहरू विजयी बने। महामन्त्रीसहित केन्द्रीय समितिमा दह्रो उपस्थिति जनाएका शेखरलाई १५ औं महाधिवेशनबाट सभापति बन्ने प्रक्षेपण गरियो। जुन अस्वभाविक थिएन। शेखरले त्यसको तयारी थाले। देश दौडाहामा निस्के। देउवाको मनोमानीविरुद्ध आवाज मुखरित गरे। राष्ट्रिय राजनीतिका पेचिला मुद्दाहरूमा पनि थोरबहुत धारणा राखे।

त्यहाँसम्म आइपुग्दा बीपीपुत्र शशांक झण्डै नेपाली राजनीतिमा असान्दर्भिक सावित भइसकेका थिए। उनको सार्वजनिक छवि संसद जाने तर नबोल्ने,कसैलाई नबिगार्ने तर नेतृत्व गर्न नसक्ने व्यक्तिको रुपमा स्थापित हुँदाको फाइदा शेखरलाई थियो। कांग्रेसमा बीपीको छायाँ देख्नेहरूलाई छहारी दिनसक्ने आशा बोकेकाहरूले उनलाई निर्विकल्प नेता देखिसकेका थिए। तर, एकपछि अर्को कमजोरी देखाउँदै गए।

एक त उनले भाग पाउँदा अस्वीकार गर्न सकेनन् अर्कोतर्फ राष्ट्रिय मुद्दाहरूमा कित्ता प्रष्ट पारेनन्। सम्झौतापरस्त नीति समाते। आफ्नो समूहबाट महामन्त्री बनेका गगनसहित ‘बागी आवाज’का पर्याय विश्वप्रकाशहरूको मन जित्न सकेनन्। आफूप्रति साह्रै बफादार देखिएकाहरूलाई समेट्न असफल बने। जेन–जी आन्दोलनपछि गगन–विश्वप्रकाशले रुपान्तरणको आवाज मुखरित गर्दा उनले आफूलाई त्यो कित्तामा त उभ्याएनन्/उभ्याएनन्, दिलोज्यान दिने गुरु घिमिरे र देवराज चालिसेहरूको मन भाँच्ने काम गरे। 

‘एउटा नारासहित जेहाद छेड्न पठाइएका लडाकुलाई शेखर दाइले एकाएक फर्कने आदेश दिनुभयो, उहाँले समयको गति बुझ्नुभएन बरु भाग पाउँला र खाऊँला भन्ने मानसिकता प्रदर्शन गर्नुभयो, राष्ट्रिय सभा उम्मेदवार चयनसम्म आइपुग्दा त बचेखुचेको श्रद्धा पनि टुटाउनुभयो,’उनीनिकट एक केन्द्रीय सदस्यले भने,‘गगन–विश्वलाई विश्वासमा लिएर विशेष महाधिवेशनको पक्षमा उभिएको भए उहाँ हाम्रै नेता बन्नुहुन्थ्यो। उहाँलाई अगाडि बढाउन हामी लाग्थ्यौँ। अब त्यो अध्याय समाप्त भयो।’ 

मन भाँचिएका ती कांग्रेस केन्द्रीय सदस्यका तर्कहरू अस्वाभाविक लाग्दैनन्। बाहिरबाट हेर्दा पनि उनी यसपटक नराम्रोसँग चुकेका छन्। 

शेखर कुनैबेला जागिरे थिए। राजनीतिमा होमिए। उनीसँग पारिवारिक विरासत त थियो नै बौद्धिकता र शालीनता पनि उनीप्रति आकर्षणका कारण थिए। पारिवारिक विरासतको जगमा उभिएर ‘बागी’ हैन कि समयचेत बुझ्ने नेताको रुपमा उभिने अवसर उनको ढोकैमा आएको थियो। तर,त्यो अवसरलाई उनले हातबाट फुस्काए।

बरु,गगन–विश्वहरूको नियतमाथि शंकामात्र जताएनन्, अन्तिम अवस्थामा कारबाही गर्ने हतारो देखाए। यसले उनी प्रतिस्पर्धी  चाहँदैनन् भन्ने सन्देशसहित जतिसुकै देवत्वकरण गरे पनि औसतभन्दा माथिका नेता नभएको पुष्टि गरिदिएको छ।

‘उहाँ अहिले कांग्रेसमा आएको परिवर्तन (विशेष महाधिवेशन) लाई पनि देशी–विदेशी शक्तिको खेल देख्नुहुन्छ। अरे बाबा, यही बेला चुनावमा जाने हो भने हाम्रा कुन चाहिँ पुराना नेताले जित्छन् ?,’ती नेताले भने,‘कम्युनिष्टसँगको सहकार्यले हामीलाई नै हानी गर्छ। अहिले दक्षिणपन्थी र लोकरिझ्याइँवादीहरू पनि हामीमािथ नै खनिएका छन्। यस्तोमा कम्युनिष्टले त आफ्नै मान्छेलाई भोट हाल्ला तर हामीलाई चुनावमा भोट कस्ले माग्दिने हो ? कम्तिमा जेन–जीको भावना बुझौं। दक्षिणपन्थी लोकरिझ्याँवादीहरूलाई रोक्ने काम गरौँ भन्ने सुझबुझ उहाँमा देखिएन।’

कांग्रेसका शुभेच्छुक अर्थविद आनन्दराज मुल्मी अहिले कांग्रेसमा देखिएको विग्रहलाई नेताभन्दा पनि नीति गतिलो नहुनुको परिणाम मान्छन्।

‘यहाँ शेरबहादुर वा शेखरको मात्र कुरा हैन, समग्र प्रवृत्ति नै घातक देखियो। राज्यसत्ताको नजिक बस्ने र त्यसको दोहन गर्ने तत्वहरूसँग नेताहरूको उठबस बढी भयो। नीति त्यसरी नै  बन्न थाल्यो,’उनले भने,‘त्यो प्रभावबाट मुक्त हुनु कांग्रेसको हितमा हुन्छ भन्ने नेताहरूले बुझेनन्। शेखर औषत देखिए। बरु, विशेष महाधिवेशनमा सुशासनको पक्षमा प्रस्तुत एजेण्डा चाहिँ आशा जगाउने खालका छन्।’

अब शेखरले के गर्लान् ? पार्टी विभाजन गर्न बाहिर–भित्रबाट षड्यन्त्र भएको जिकिरसहित उनले ढिलो गरी सबैलाई घर फर्कन आह्वान गरेका त छन् तर स्वयंले निष्ठाको जगमा उभिएको घरमा छन् कि षड्यन्त्रले बनेका लाक्षगृहमा भन्ने हेक्का राखेका छैनन्। बीपी देखाएर पार्टी बन्दैन,पार्टी बन्न आरोपमात्र काफी छैनन्, जनअनुमोदित हुनुपर्छ र समयसँग बेग मिलाउनुपर्छ। अर्कामाथि लगाएका आरोपहरू पुष्टि गर्न सक्नुपर्छ। 

गगन–विश्वप्रकाशलाई कारवाही गरेपछि उनी र पारिवारिक सदस्य कृष्णप्रसाद सिटौलालाई कार्यकर्ताले उस्तै देख्न थालेका छन्। संघीयता,धर्म निरपेक्षता,राजतन्त्रबारे शेखरका धारणाहरू त्यति प्रष्ट लाग्दैनन्। विद्रोह गर्न नसक्ने तर अवसर पाए नछाड्ने ‘पुराना नेता’मा दर्ज भएका शेखर भरपर्दा ‘माझी’ हैनन्।

महाधिवेशनको मुखैमा उनले यात्रुसहितको डुंगालाई मझधारमा छाडेर आफू सुरक्षित बन्ने कोसिस चाहिँ गरेकै हुन्। तर, देउवाले यो बठ्याइँको उपहार देलान् कि नदेलान्? वा कति समय लगाउलान्? जनता र जेन–जीको प्रश्नमा उनी कसरी प्रस्तुत होलान्? गगन–विश्वप्रकाशको रफ्तार रोक्न उनले कस्तो हथकण्डा अपनाउलान् वा गगन–विश्वले आफूलाई कसरी प्रस्तुत गर्लान्? भन्नेजस्ता प्रश्नहरूको उत्तर खोज्नुपर्ने हुन्छ।

अहिलेलाई चाहिँ ढुक्क भन्न सकिन्छ– उनी चिप्लिएका छन्! 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad