सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेड १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।
‘अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ’, नेपालखबरसँग कुरा गर्दै मन्त्री भट्टराईले भने।
यसअघि अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो।
याे पनि : मन्त्रिपरिषदको निर्णय: लकडाउन जेठ ५ सम्म
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो। सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो।
यस्तै सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। यसअघि थप गरिएको लकडाउनको अवघि भोलि (वैशाख २५ गते) सकिँदै थियो।
पछिल्लो समय नेपालगन्ज लगायतका स्थानमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवघि थप गरेको हो।
लकडाउन थप गरे पनि सरकारले कम प्रभावित क्षेत्रमा केही खुकुलो हुनेगरी लकडाउनको मोडालिटी तय गरेको बताइए पनि सार्वजनिक भने गरिएको छैन।

प्रतिक्रिया