अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले कोरोना भाइरस(कोभिड–१९) महामारी नियन्त्रणका लागि ४ करोड ५३ लाख रुपैयाँ मूल्यबराबरको सामान सरकारलाई हस्तान्तरण गरेको छ।
एआईएनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको हो।
एआईएनको पहलमा १६ वटा संस्थाको संयुक्त पहलको उक्त रकमबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एनआईएनले जनाएको छ।

‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा दीर्घकालीन पुनर्लाभ र मुलुकको उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार र नागरिक संघ/संस्थाले काँध मिलाई आपसमा सवल ढंगमा काम गर्नुपर्ने समय हो’, एआईएनका अध्यक्ष अच्युतकुमार लुइँटेलले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै भने।
एक्सन एड, आड्रा नेपाल, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आईएनएफ नेपाल, आइपास नेपाल, लुथरन वर्ल्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वन हर्ट हेल्थ, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन, वाटर एडसहित गैसस न्याय हेल्थ नेपालले यसका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् ।
हस्तान्तरण गरिएको सामग्रीमा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) सेट, सेफ डेलिभरी किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा खासगरी कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य, स्यानिटाइजर र कीटनाशक वस्तुलगायत छन्।
स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको उक्त संयुक्त सहायताका अलावा कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यका लागि एआइएनमा आवद्ध १ सय २९ मध्ये ६५ वटा संस्थाले सक्रिय रुपमा काम गरिरहेका छन् । यी संस्थाहरुले अहिलेसम्म कोभिड–१९ को रोकथाम र प्रतिकार्य तथा जीविकोपार्जन र आर्थिक उत्थानशीलता निर्माणका लागि कम्तीमा २ अर्ब रुपैयाँ सहयोग गरेको एआईएनले जनाएको छ।
समग्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहायताबारे एआइएनले सर्वेक्षण गरेको छ। उक्त सर्वेक्षणको नतिजा छिट्टै सार्वजनिक गरिँदै छ।
मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिसरमा आज बुधवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, समाज कल्याण परिषद्का कार्यवाहक सदस्य सचिव शिवकुमार बस्नेत तथा एआइएनका अध्यक्ष अच्युतकुमार लुइँटेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको थियो ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशिकामा तोकिएको मापदण्डअनुसार भौतिक दूरी कार्य गर्दै आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, एआइएनका सदस्य तथा सञ्चारमाध्यमको उपस्थिति थियो ।

प्रतिक्रिया