नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि चार जनाले फारम लगेका छन्।
विशेष महाधिवेशनबाट गठित केन्द्रीय निर्वाचन समितिका अनुसार, साँझ ५ बजेसम्म चार जनाले फारम लगेका हुन्। फारम लग्नेको रिकर्ड भने राखिएको छैन। उम्मेदवारी दर्ताको वेला मात्रै रिकर्ड राखिने निर्वाचन समितिले जनाएको छ।
दिउँसोदेखि उम्मेदवारी मनोनयनको फारम वितरण सुरु गरिएको थियो। अहिले उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। तर, उम्मेदवारी दर्ताको समय सारिएसँग मतदानको समय पनि फेरबदल हुने जनाएको छ।
अर्कातिर, कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। दिउँसो १ बजे बोलाएको बैठक अझै पनि बस्न सकेको छैन्।
सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षको वार्ता टोली छलफलमा छ। दिउँसो ३ बजेदेखि सुरु भएको वार्ता अझै जारी रहेको छ। वार्ताको निष्कर्षपछि मात्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने जनाइएको छ।
Shares

प्रतिक्रिया