विशेष महाधिवेशन पक्षधरसँग वार्ता टोलीको छलफल जारी रहेकाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिलाइ भएको छ। दिउँसो १ बजे बोलाएको बैठक साँझ ५ बजेसम्म पनि बसेको छैन।
संस्थापन पक्ष, डा. शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षको टोलीबीच अपराह्न ३ बजेदेखि वार्ता जारी रहेको छ। कांग्रेसमा उत्पन्न विवाद समाधानका लागि तीनै पक्षका वार्ता टोलीका सदस्य आजै दोस्रो पटक छलफलमा बसेका हुन्।
मंगलबार बिहान भएको वार्ता सकारात्मक भएको जनाइएको थियो। त्यसपछि तीनै पक्षको वार्ता टोलीका सदस्यले आ–आफ्नो समूहका शीर्षनेतासँग छलफल गरेका थिए। छलफलपछि फेरि उनीहरू वार्ता गरिरहेका छन्।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कार्यक्रम अघि बढाएका छन्। विशेष महाधिवेशनले बनाएको केन्द्रीय निर्वाचन समितिले निर्वाचनका कार्यक्रम जारी राखेको छ। साँझ ५ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ। आजै राति ९ बजेदेखि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरिएपछि कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए। मंगलबार बिहान ११ बजे बोलाएका केन्द्रीय कार्यसमितिको बैठक त्रीपक्षीय वार्ताका कारण दिउँसो १ बजे सारिएको थियो।
त्यसका लागि कांग्रेस कार्यवाहक सभापति खड्कासहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू कांग्रेस केन्द्रीय कार्यालय, सानेपा पुगेका थिए। दिउँसै सानेपा पुगेका नेताहरू वार्ता समितिको निष्कर्ष कुरिरहेको एक नेताले बताए।
केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेका नेताहरू कार्यवाहक सभापति खड्काको कार्यकक्षमा छलफल रहेका छन्। वार्ता टोलीको निष्कर्ष आएलगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्ने जनाइएको छ।
विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू रमेश लेखक र बालकृष्ण खाण, डा. शेखर कोइराला पक्षीय नेताहरू सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय थापा र शर्मा पक्षीयहरू नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्।
Shares

प्रतिक्रिया