राजनीति


लकडाउन थप्न मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउन थप्न मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ३:५२,

मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए। ‘बैठक बस्दै छ, विभिन्न विषयमा निर्णय होला,’ थापाले नेपालखबरसँग भने। बैठकले लकडाउन थपको निर्णय गर्ने सम्भावना छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। आजको बैठकले लकडाउन पुनः थप गर्ने सम्भावना छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले लकडाउनलाई निरन्तरता दिने संकेत गरिसकेका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको प्रभावका आधारमा बिभिन्न क्षेत्र विभाजन गरी सोहिअनुसार लकडाउन खुकुलो पार्न गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तर जारी राख्ने संकेत गरेका हुन्।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकालेको थियो।

सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको छ।

भारतले ४ जेठसम्म लकडाउनको अवधि थपिसकेको छ। भारतमा संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको छ। नेपालमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad