छापा खबर


असन्तुष्ट नेतालाई बालुवाटार बोलाएर फकाउँदै प्रधानमन्त्री ओली

असन्तुष्ट नेतालाई बालुवाटार बोलाएर फकाउँदै प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ४:८,

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई बालुवाटारमा बोलाएर फकाउन थालेका छन्।

स्थायी कमिटीको बैठक नजिकिँदै गर्दा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई बेग्लाबेग्लै बोलाएर छलफल गरेका हुन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

स्थायी कमिटीको अजेन्डा तय गर्ने जिम्मेवारी पाएका दाहालले सोमबार नेपालसँग भेटघाट गरेपछि मंगलबार दिउँसो ओलीले दाहाल, नेपाल र खनालसँग भेट गरी विवाद मत्थर बनाउने प्रयास गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार नेताहरुसँगको छलफलमा ओलीले पार्टीभित्र देखिएको समस्या र विकसित घटनाक्रमबारे चासो राखेका थिए।

उनले सचिवालय बैठकपछि दाहाल, नेपाल, खनाल र नारायणकाजी श्रेष्ठबीच भएको भेटघाटका बारेमा पनि चासो राखेका थिए। २० गतेको सचिवालय बैठकपछि दाहाल, नेपाल, खनाल र श्रेष्ठले छुट्टै बैठक गरेका थिए। दाहाल र नेपाल समूहले आफ्नो पक्षका स्थायी कमिटी सदस्यको बैठक पनि राखेका थिए।

शनिबार बसेको सचिवालय बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्तिसंघर्ष सहमतिका आधारमा टुंग्याउने निर्णय गरेको थियो। २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको बैठकमा ओली र दाहालले सरकार तथा पार्टीको कामकारबाहीका बारेमा आत्मालोचना गरेका थिए।

ओलीले पार्टीलाई सहमतिका आधारमा अघि बढाउने आश्वासन पनि दिएका थिए। तर सोबमोजिम ओली चल्न नखोजेको भन्दै दाहाल र नेपालले छुट्टाछुट्टै र संयुक्त बैठक गरिरहेका छन्।

पार्टीभित्र एक व्यक्ति एक जिम्मेवारीको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको नेपाल समूह ओली र दाहालबाट स्थायी कमिटी बैठकमा आउन सक्ने अजेन्डाका लागि ‘पर्ख र हेर’ को नीतिमा रहेको सो समूहका एक नेताले बताए।

सहमतीय प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका दाहालको अबको भूमिका कस्तो रहन्छ, स्थायी कमिटीको बैठकमा आउने प्रस्तावले तय गर्ने विश्लेषण नेपाल समूहको छ। सहमतिको प्रस्ताव बनाउने जिम्मेवारी पाएपछि दाहालले नेपालसँग छलफल थाले पनि वातावरण सहज बनिसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad