बागमती प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का ६ मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिएको छ।
साउनको पहिलो साता बन्ने नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ। त्यसका लागि एमालेले पुराना मन्त्रीलाई फिर्ता बोलाउन लागेको हो।
बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारमा एमालेका ६ मन्त्री छन्। साउनको पहिलो साताबाट मन्त्रालयको संख्या घटाउने निर्णय कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। जसका लागि आफ्ना मन्त्री फिर्ता बोलाउन लागिएको एमाले एक नेताले बताए।
हाल सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सांसदलाई पठाउने गरी तयारी भइरहेको उनको भनाइ छ। ‘प्रदेश सरकारको नेतृत्व परिवर्तनको पनि चर्चा छ। त्यसमा बागमतीको नेतृत्व कांग्रेसले पाउने कि एमालेले भन्ने यकीन भइसकेको छैन,’ उनले भने, ‘नेतृत्व नै फेरिने स्थितिमा स्वतः दुवै दलका मन्त्रीहरू फिर्ता हुने नै भए। यदि फेरिएन भने पनि मन्त्रालय घटाउँदा एमालेका मन्त्रीहरू फिर्ता हुनुहुन्छ।’
गत साउन २० मा गठन भएको बागमती प्रदेश सरकारमा एमालेबाट ६ जना मन्त्री बनेका थिए। दोलखा २ ‘१’ बाट निर्वाचित भरत केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् भने काठमाडौँबाट समानुपातिकतर्फ निर्वाचित डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री छन्।
त्यसैगरी, काठमाडौँ २ ‘४’ बाट निर्वाचित जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहेका छन्। ललितपुर १ ‘१’ बाट निर्वाचित मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री छन् भने भक्तपुर १ ‘२’ बाट निर्वाचित किरण थापा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन्।
काठमाडौँबाट समानुपातिकतर्फ निर्वाचित विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी छन्। हालको मन्त्रिपरिषद्मा रहेका एमालेका ६ मन्त्रीमध्ये स्वास्थ्यमन्त्री किरण थापा मात्रै अघिल्लो मन्त्रिपरिषद्बाट दोहोरिएका मन्त्री हुन्।
बागमती प्रदेश सभामा एमालेका २५ सांसद छन्। हाल बागमतीमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय रहेको बागमतीमा ६ मन्त्रालय कटौती गरेर आठमा झार्ने निर्णय भइसकेको छ। सोही निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बताउँछन्।
Shares

प्रतिक्रिया