राजनीति


विशेष महाधिवेशनस्थलबाट फर्किन आफू पक्षका नेतालाई देउवा-पूर्णबहादुरको फोन

विशेष महाधिवेशनस्थलबाट फर्किन आफू पक्षका नेतालाई देउवा-पूर्णबहादुरको फोन

नेपालखबर
पुस २८, २०८२ सोमबार १३:५९, काठमाडौँ

बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएपछि भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनको विकल्पमा समेत अग्रसर देखिएको छ। आकलन गरेभन्दा बढी प्रतिनिधि र आफ्नै समूहका नेताहरू सहभागी भएपछि सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा उनी पक्षका नेताहरू भेला भएका छन्। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताले पार्टी विभाजन हुने खतरा देखिएको भन्दै प्रयत्न सुरु गरेका छन्। देउवाले कार्यवाहक सभापति खड्कासहितका नेताहरूलाई पार्टी एकताका लागि आह्वान गर्न भनेका थिए। 

त्यसपछि अहिले पनि देउवा निवासमै रहेका नेताहरूले विशेष महाधिवेशनमा सहभागी भएका आफू पक्षका केन्द्रीय सदस्यहरूलाई टेलिफोन गरेर बोलाउन थालेका छन्। 

‘नेताहरू अहिले देउवा निवासमा हुनुहुन्छ। त्यहाँबाट हामीलाई टेलिफोन आइरहेको छ। विशेष महाधिवेशनमा नजानुस्, फर्किनुस्। देउवा निवासमा आउन भन्दै फोन आइरहेको छ। तर अब हामी यहाँ सहभागी भइसक्यौँ, बिचमै छाडेर जाने कुरा भएन’, यसअघि एकताको पहल गरिरहेका ३० केन्द्रीय सदस्य मध्येका एक नेताले नेपालखबरसँग भने। 

यसअघि ३० केन्द्रीय सदस्यको टोलीले आइतबार दिउँसोसम्म पनि पार्टीलाई विभाजन हुन नदिन पहल गर्न भन्दै देउवा, शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर अनुरोध गरेका थिए। त्यसक्रममा देउवा र शेखरले आफूहरूलाई बेवास्ता गरेको भन्दै उनीहरू अन्तिम समयमा निर्णय गरेर विशेष महाधिवेशनमा सहभागी भएका थिए। 

अहिले बन्दसत्र सुरु भएको छ। बन्द सत्रमा महामन्त्री थापा र शर्माले साङ्गठनिक तथा समसामयिक प्रतिवेदन पेस गरिसकेका छन्। अहिले खानाका लागि स्थगित गरिएको समूहगत छलफल यसपछि सुरु गर्ने तालिका छन्। 

बन्द सत्रले वर्तमान समिति भङ्ग गर्दै नयाँ नेतृत्व चुन्नेसम्मको कार्यविधि तयार गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad