नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको हस्तक्षेपकारी भूमिका र लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको प्रयासमा प्रतिगमनको थप शृखंला रोक्न सफल भएको दाबी गरेका छन्।
शनिबार ललितपुरमा आयोजित पार्टीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्थापित राजनीतिक दलहरूलाई निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको जिकिर पनि गरे।
अहिले सरकार दलहरूसँग संवाद गर्ने ठाउँमा आइपुगेको भन्दै उनले स्थापित दलहरूलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने पात्रहरूको ‘माक:फुइँ’लाई विफल तुल्याइएको दाबी पनि ओलीले गरेका छन्।
‘हाम्रो पार्टीको सचेतन, सक्रिय र हस्तक्षेपकारी भूमिका एवं लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयासमा हामीले प्रतिगमनको थप शृङ्खलालाई रोक्न सफल भएका छौँ। स्थापित राजनीतिक दलहरूलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको छ। दलहरूसँग संवाद गर्ने ठाउँमा आइपुगेको छ’, उनले भने, ‘स्थापित दलहरूलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्नेजस्ता विभिन्न शंकास्पद पात्रहरूको माकफुइँलाई विफल तुल्याइएको छ।’
लेखक राजेन्द्र महर्जनका अनुसार ‘माकःफुइँ’ नेपाल भाषाको पुरानो उखान हो। शब्दशः अनुवाद गर्दा ‘बाँदरको फुर्ती’ अर्थ लाग्ने ‘माकःफुइँ’को खास भावार्थ हो- ‘फःसा ख्याये, मफुसा ग्याये’ (सके तर्साउने, नसके तर्सिने)।
यस्तै एमाले अध्यक्ष ओलीले आफू तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भदौ २३–२४ का घटनामा मुछ्ने प्रयास असफल भएको दाबी पनि गरेका छन्।
‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई भदौ २३–२४ का घटनामा सम्भव भएसम्म मुछ्ने र त्यसो गर्न नसकिए पनि मिथ्याप्रचार, मिडिया ट्रायल र ’समन’ र ‘बयान’मार्फत तेजोवध गर्ने प्रयास पनि असफल भएको छ’, उनले भने।
राज्यका वैधताप्राप्त निकायले कुनै पनि विषयमा सोधपुछ गर्न बोलाउँदा त्यहाँ गएर सहयोग गर्ने, अख्तियार प्राप्त निकायले मुद्दा अभियोजन गरे त्यसको कानुनसम्मत सामना गर्ने र प्रचलित कानुनबमोजिम गल्ती भएको भए उपयुक्त सजाय भोग्न तयार हुने अभ्यास एमालेमा रहेको उनले बताए।
उनले भने, ‘विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टी यसमा प्रतिबद्ध छ। तर बदनियतका साथ गरिने नाटक मञ्चनको भुलभुलैयामा नेकपा (एमाले) पर्दैन भन्ने कुरा पनि स्पष्ट छ। जे होस्, कथित जाँचबुझ आयोगको पहिल्यै लेखिएको पटकथामाथि आधारित नाट्य मञ्चनको पनि पटाक्षेप भएको छ। मुलुकको परिस्थिति अलिकति सङ्लिएसँगै भदौ २४ को विध्वंसकै निरन्तरतामा राजनीतिलाई अगाडि लैजाने प्रतिगामी प्रयास कमजोर बन्दै गएको छ।’
Shares

प्रतिक्रिया