नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको विशेष महाधिवेशनमा करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ मा हुने विशेष महाधिवेशनका लागि १२ वटा व्यवस्थापन उपसमितिले तयारी तीव्र पारेका छन्। विशेष महाधिवेशन पक्षका अनुसार आवास तथा खाना, मञ्च निर्माण र यातायात व्यवस्थानका लागि खर्च हुने भएको छ।
खाना तथा आवास व्यवस्थापन उपसमितिका प्रमुख रमेश धमलाले काठमाडौँका सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगल र लैनचौरका होटलमा १५ सय कोठा बुकिङ गरिएको बताए। उनका अनुसार डबल बेडको एउटा रुमको एक दिनको १५ सयका दरले तीन दिनका लागि बुक गरिएको छ। आवासमा मात्र ६७ लाख ५० हजार रुपैयाँ खर्च हुने आकलन छ।
धमलाका अनुसार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पुस २७ गते बिहान र साँझको खाना हुनेछ भने पुस २८ गते बिहान ब्रेकफास्ट र दिउँसो खानाको व्यवस्था गरिएको छ। यराकललाई क्याट्रिनको जिम्मा दिएको छ। क्याट्रिनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस्तै मञ्च व्यवस्थापन उपसमितिका संयोजक गोविन्द पुडासैनीले मञ्च निर्माणका लागि ८ लाख खर्च हुने बताए। ‘आजबाट मञ्च निर्माणको काम सुरु भएको छ। भोलि साँझसम्म तयार हुन्छ। सात-आठ लाखमा मञ्च बन्छ होला,’ उनले नेपालखबरलाई भने।
यातायातको व्यवस्था महाधिवेशन प्रतिनिधि आफैले गर्नुपर्ने यातायात व्यवस्थापन उपसमितिका संयोजक माधव ढकालले बताए। ‘महाधिवेशन प्रतिनिधिहरू टाढाबाट आफ्नै खर्चमा आउनु भएको छ। बागमती प्रदेशबाट महाधिवेशन उद्घाटनमा केही मान्छे ल्याउने तयारी छ। त्यसका लागि केही खर्च हुन्छ होला,’ ढकालले भने।
जिल्लाका नेताहरूले आग्रह गरेमा काठमाडौँबाट गाडी पठाइने व्यवस्था गरिएको उनले बताए। ‘यातायात व्यवस्थापनका लागि अहिले नै कति खर्च हुन्छ भन्न गाह्रो छ। महाधिवेशनमा आउने सबै नेताहरू नै हो। नेताहरू आफै गाडीको व्यवस्था गरिहाल्नु हुन्छ। धेरै खर्च नहोला,’ उनले भने।
नेपाली कांग्रेसले विशेष महाधिवेशन स्वीकार नगरेकाले पार्टीको कोषबाट पैसा खर्च हुने छैन। त्यसैले विशेष महाधिवेशनका लागि आन्तरिक रुपमा खर्चको व्यवस्थापन गरिएको धमलाले जानकारी दिए।
‘विशेष महाधिवेशनका लागि कसैसँग चन्दा मागिएको छैन। महाधिवेशन प्रतिनिधिबाट पैसा उठेको छ। १० लाख कमाउनेले ५० हजार हालेका छौँ। २० लाख कमाउनेले १ लाख हालेका छौं। कसैले अहिल बढी पनि हाल्छौँ। यसरी पैसा हाल्ने चार-पाँच सय जना छौं,’ उनले भने, ‘यसरी नै दुई-तीन करोड पैसा उठिहाल्छ नि।’

उनका अनुसार विशेष महाधिवेशनमा दर्ता शुल्क राखिएको छैन। ‘हामीले महाधिवेशन प्रतिनिधिलाई निःशुल्क विशेष महाधिवेशनको झोला दिन्छौँ। उहाँहरू हलभित्र प्रवेश गर्नुहुन्छ,’ उनले भने।
कांग्रेस विशेष महाधिवेशन पक्षधरले २१ वटा उपसमिति बनाएर काम गरिरहेका छन्। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमाणि आचार्यले सबै उपसमितिले तीव्ररुपमा काम गरिरहेको बताए। ‘विशेष महाधिवेशन माग गर्दा ५४ प्रतिशत रहेकोमा २५ जना जतिले हस्ताक्षर फिर्ता लिएका छन्। तर करिब ५ सय जना महाधिवेशन प्रतिनिधि थपिनु भएको छ,’ आचार्यले भने।
यो पनि पढ्नुहोस्: विशेष महाधिवेशन : देउवा सहभागी भए संकल्प मात्रै, नत्र नयाँ नेतृत्व चयन
Shares

प्रतिक्रिया