राजनीति


एमालेको अन्तरपार्टी निर्देशन: परिआए जुध्नको लागि तयार रहनू

एमालेको अन्तरपार्टी निर्देशन: परिआए जुध्नको लागि तयार रहनू

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ८:२२, काठमाडौँ

नेकपा एमालेले देशै भरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ। 

पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयसहित अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले भदौ २३ र २४ को घटनापछि देशका शान्ति सुरक्षाको अवस्था इतिहासकै नाजुक अवस्थामा पुगेकोले स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको हो।

‘राज्य व्यवस्थालाई कमजोर बनाइएको छ, नागरिकले राज्यमाथि भरोसा गर्ने र आपराधिक तत्त्वहरू राज्यबाट भयभीत हुने अवस्था छैन, आमजनता भयभीत हुने र आपराधिक तत्त्वहरू भयरहित हुने अवस्था सिर्जना गराइएको छ, यस्तो अवस्थामा सिङ्गो राष्ट्र, जनता र पार्टीका रक्षाका लागि सिङ्गो पार्टीपंक्ति प्रतिरोधी ढङ्गले अघि बढ्न तयार हुनुपर्दछ’, एमालेले जारी गरेको निर्देशनमा भनिएको छ। 

भदौ २३ र २४ गतेपश्चात् उत्पन्न राज्यविहीनताको स्थितिमा पार्टीले राष्ट्रिय स्वयंसेवक फोर्स गठन गर्ने निर्णय गरेको एमालेले  जनाएको छ।

‘पार्टीसम्वद्ध जनसंगठनका रूपमा मान्यता प्राप्त राष्ट्रिय स्वयंसेवक फोर्सलाई सम्बन्धित तहको पार्टी कमिटीको प्रत्यक्ष नेतृत्व र निर्देशनमा सञ्चालन हुने गरी पालिका तहसम्म नै गठन गरिनुपर्दछ, आमजनताको सहभागितामा टोल सुरक्षा समिति गठन गरिनुपर्दछ’, एमालेले मातहतका कमिटीलाई पठाएको निर्देशनमा भनिएको छ।

सामाजिक सद्भाव खलबल्याउने, अशान्ति र असुरक्षा पैदा गर्ने तथा जनतालाई भयभीत बनाउने षड्यन्त्र जारी रहेको बताउँदै एमालेले भविष्यमा भदौ २३ र २४ गतेको जस्तो विध्वंसकारी घटना घट्न नपाओस् भन्ने हिसाबले जनतासँग एकाकार भएर प्रतिरोधी ढङ्गले अघि बढ्ने नीति लिनुपर्ने जनाएको छ। 

भदौ २३ र २४ को घटनापछि पनि सर्वाधिक प्रहार र घेराबन्दी नेकपा एमाले र एमाले नेतृत्वका विरुद्धमा नै केन्द्रित रहेको स्पष्ट पार्दै नेकपा एमालले बाहिरबाट भइरहेको नियोजित घेराबन्दी र आक्रमणबाट एमाले पार्टीपंक्ति समेत केही हदसम्म प्रभावित भएको जनाएको छ । तर पार्टीले सुरुदेखि नै चुनौतीलाई सामना गर्दै अघि बढ्ने नीति लिएकाले कार्यकर्ता र जनताको परिचालनका माध्यमबाट प्रतिगमनतर्फको यात्रालाई एक हदसम्म रोक्न पार्टी सफल भएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ । 

एमालेको पहलकदमी र अग्रसरताबाट नै लोकतान्त्रिक परिवेश फराकिलो बन्दै गएको पार्टीले जनाएको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको अनुहार नै हेर्न नचाहने प्रधानमन्त्रीले प्रमुख नेताहरूसँग औपचारिक छलफल गर्न बाध्य हुनुपरेको, प्रतिशोधपूर्ण ढङ्गले हत्याको अभियोग लगाउने षड्यन्त्रबाट सरकार पछि हट्नुपरेको, पार्टी अध्यक्षमाथि लगाइएको स्थान हद र विदेश भ्रमण रोक्ने निर्णय फिर्ता भएको घटनले लोकतान्त्रिक परिवेश केही फराकिलो भएको एमालेका ठहर छ। 

भदौ २३ र २४ गतेको विध्वंसका पक्षधरहरू लोकतान्त्रिक शक्तिहरू पुनः क्रियाशील हुन थालेपछि एक ठाउँमा उभिन बाध्य भएका जनाउँदै एमालले निर्वाचनका माध्यमबाट भदौ २३ र २४ गतेको विध्वंसलाई वैधता दिने योजना कमजोर बन्दै गएको स्पष्ट पारेको छ।

‘तर पनि चुनौती सकिएको छैन, नयाँ शिराबाट परिस्थितिलाई भड्काउने षड्यन्त्र हुन सक्दछ, निर्वाचनबाट आफू अनुकूलको परिणाम आउने नदेखेपछि निर्वाचन बिथोल्ने काम पनि हुन सक्दछ, यस्तो स्थितिमा प्रतिगमनलाई सही बाटो ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना सबैभन्दा उपयुक्त र सुरक्षित बाटो हो भन्ने मान्यतामा पार्टी पनि दृढ छ तर चुनाव भएको अवस्थामा चुनावबाट अलगिने कुरा उपयुक्त हुँदैन, यस्तो अवस्थामा आन्दोलन वा चुनाव जुन दिशातिर जानुपरे पनि पार्टीपंक्ति तयार रहनुपर्दछ, मुलुकलाई सही दिशामा फर्काउनुको विकल्प छैन’, मातहत कमिटीलाई एमालेले यस्तो परिस्थिति आए पनि जुध्नको लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। 

अहिलेको समय सूचना र प्रविधिको भएको जनाउँदै एमालले सूचना र प्रविधिको तीव्र विकासले सबै क्षेत्रलाई प्रभावित गरिरहेको प्रति मातहतका कमिटीलाई सचेत बनाएको छ । साम्राज्यवादी र प्रभुत्ववादीहरूले सूचना प्रविधिको प्रयोग गरेर नै आफ्नो प्रभुत्व कायम गर्ने कोसिस गरिरहेका उल्लेख गर्दै एमालले देशभक्त सरकार पुँजीवाद विरुद्धका शक्तिहरू र स्वतन्त्र राष्ट्रहरूलाई कमजोर बनाउने हतियारका रूपमा सूचना र प्रविधिको प्रयोग भइरहेको  उसले जनाएको छ। 

सूचना प्रविधिको प्रयोगबाट नै वैधानिक सत्ता र शक्तिलाई कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि डिपस्टेटका माध्यमबाट कथित कलर रिभ्युलसन गरी प्रतिगमनतर्फ धकेल्ने र कठपुतली सरकार निर्माण गर्ने काम आम विषय बन्दै गएका एमालेको निष्कर्ष छ । यसका लागि समाजमा अराजकतावाद र त्यसको जगमा लोकप्रियतावादलाई प्रवर्द्धन गर्ने काम नियोजित रूपमा भइरहेको बताउँदै एमालले पछिल्लो समयमा नेपालमा नयाँ शक्ति निर्माणको चलखेललाई सोही परिप्रेक्षकमा बुझ्नुपर्ने जनाएको छ।

‘यस्तो स्थितिमा हाम्रो उद्देश्य र योजनालाई सफल बनाउनका लागि हामीले पनि सूचना प्रविधिको उपयोगमा विशेष जोड दिनुपर्दछ, पार्टीका हरेक नेता र कार्यकर्ताले पार्टी कामको एउटा महत्त्वपूर्ण क्षेत्रका रूपमा सामाजिक सञ्जालको उपयोगलाई व्यापक बनाउनु आवश्यक छ, पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका काम, पार्टी गतिविधि र पार्टीका आगामी नीति तथा कार्यक्रमलाई सामाजिक सञ्जालका माध्यमबाट प्रभावकारी ढङ्गले सम्प्रेषण गर्नुपर्छ’, मातहतका कमिटीलाई एमालेको निर्देशन छ। 

चुनावका समयमा पार्टीको नीति, चुनावी प्रतिबद्धता र पार्टीले खडा गरेका उम्मेदवारहरूलाई समेत सामाजिक सञ्जालको प्रयोग गरेर स्थापित गर्ने नीति बनाउनु पर्ने एमालेको निर्देशन छ । सोहीअनुसारको संस्थागत योजना बनाएर कामलाई अघि बढाउन पार्टीले निर्देशन दिएको छ। 

पछिल्लो समयमा नयाँ आर्थिक शक्ति केन्द्रका रूपमा एसियाली मुलुकहरू चीन र भारत देखा पर्न थालेपछि विश्व अर्थ व्यवस्थामा नयाँ हलचल पैदा हुँदै गएको उल्लेख गर्दै एमालेले एक ध्रुवीय विश्व व्यवस्थालाई कायम राख्ने नाममा दोस्रो विश्वयुद्ध पछि स्थापित विश्व व्यवस्थाका मूल्य र मान्यताहरूलाई उपेक्षा गर्ने र भत्काउने कार्य तीव्र बनेका जनाएको छ।

पछिल्लो समयमा भेनेजुएला माथिको अमेरिकी सैन्य हस्तक्षेप र जननिर्वाचित राष्ट्रपतिलाई अपहरणको शैलीमा नियन्त्रणमा लिने कार्यले संयुक्त राष्ट्रसंघलगायतका विश्व संस्थाको औचित्य र उपादेयतामाथि नै  खिल्ली उडाउने काम भएको एमालेको टिप्पणी छ। 

भदौ २३ र २४ गतेको घटना सतहमा जेनजी अभियानकर्ताहरू, नेपालभित्रका शक्ति र व्यक्तिहरूको योजना र संलग्नता जस्तो देखिए पनि त्यो भूराजनीतिक शक्ति संघर्ष र होडबाजीको परिणाम समेत थियो भन्ने कुरामा अब कुनै सन्देह नरहेको एमालेले जनाएको छ।

यस्तो स्थितिमा हाम्रो जस्तो संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुकको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रश्न निकै गम्भीर र संवेदनशील बन्न पुगेको एमालेको धारणा छ।  

बदलिँदो विश्व परिवेशअनुरूप मुलुकको हित, संविधान र लोकतन्त्रको रक्षा तथा पार्टी र आन्दोलनको सुनिश्चित भविष्यका लागि आमजनताको अचेतनता र जागरूकता अपरिहार्य विषय बनेकोले  यसका लागि पार्टीले सचेतन ढङ्गले पहलकदमी लिनुपर्नेमा एमालेले जोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad