नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीले प्रधानमन्त्री कार्कीसँग ३ घण्टा ‘वान टु वान’ वार्ता गरेका हुन्।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए।
आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर गएका ओलीले चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसँग एक्लै लामो संवाद गरेका हुन्।
भदौ २३ को जेनजी आन्दोलनपछि बालुवाटारबाट ओली विस्थापित भएका थिए। त्यसपछि सरकारको नेतृत्वमा कार्की आएकी थिइन्।
त्यसयता राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतलनिवासमा पहिलोपटक भेटवार्ता भएको थियो।
जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्की सुरुका केही महिना तीन शीर्ष नेताहरुसँग भेट्न अनिच्छुक थिइन्। तर, यसले चुनावी वातावरण नबन्ने भन्दै आलोचना हुन थालेपछि उनी भेट्न तयार भएकी थिइन्।
शीतलनिवासको भेटपछि बालुवाटारमै तीन नेतासँग वार्ता गर्ने सहमति भएको थियो। पुस १२ गते बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डले वार्ता गरेका थिए।
Shares

प्रतिक्रिया