राजनीति


निर्वाचनका लागि लोकसेवाले स्थगित गर्‍यो उपसचिवको परीक्षा

निर्वाचनका लागि लोकसेवाले स्थगित गर्‍यो उपसचिवको परीक्षा

नेपालखबर
पुस २४, २०८२ बिहिबार १७:२१, काठमाडौँ

लोकसेवा आयोगले आगामी माघ १० गतेदेखि सञ्चालन गर्ने तय गरेको उपसचिव (अप्राविधिक) पदको लिखित परीक्षा स्थगित गरेको छ। निर्वाचन आयोगको ताकेता र कर्मचारीहरूको कार्यव्यस्ततालाई मध्यनजर गर्दै आयोगले आज एक सूचना जारी गरी परीक्षा स्थगित भएको जानकारी दिएको हो।

लोकसेवाका अनुसार विज्ञापन नम्बर १६६६४-१६६९१/०८२-८३ अन्तर्गतका न्याय, प्रशासन, लेखापरीक्षण र संघीय संसद् सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी) पदका सबै परीक्षा कार्यक्रमहरू स्थगित गरिएका हुन्।

प्रमुख आयुक्त सहित बैठकमा
फागुन २१ गते हुने निर्वाचनमा खटिने कर्मचारी, विशेष गरी शाखा अधिकृतहरूले परीक्षाको तयारी गर्न समय नपाउने भन्दै पुस १७ मा निर्वाचन आयोगले परीक्षा सार्न पत्राचार गरेको थियो। निर्वाचन आयोगले कर्मचारीहरू निर्वाचनको काममा केन्द्रित हुनुपर्ने र उनीहरू परीक्षाबाट वञ्चित हुन नहुने भनेपछि लोकसेवा आयोगले यस्तो निर्णय लिएको हो।

यसअघि लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार उक्त परीक्षा २०८२ माघ १० गतेदेखि २८ गतेसम्म काठमाडौँ उपत्यकाका १० वटा केन्द्रहरूमा सञ्चालन हुने तय भएको थियो।

परीक्षा स्थगित गर्ने निर्णय लिनुअघि लोकसेवा आयोगमा निकै अन्योल देखिएको थियो। एउटा परीक्षा स्थगित गर्दा वर्षभरिको परीक्षा क्यालेन्डर प्रभावित हुने जोखिम रहन्छ।

लोकसेवाको परीक्षाका सर्वसाधारणले प्रतिस्पर्धीको तयारी गरिरहेका हुन्छन्। क्यालेन्डर र निर्वाचन दुवैलाई मध्यनजर गर्दै मुख्य आयुक्त माधवप्रसाद रेग्मीसहितको बैठकले बिहीबार परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

परीक्षा स्थगित भएसँगै अब निर्वाचन आयोगले पर्याप्त कर्मचारी पाउने स्थिति बनेको छ।
 

सहसचिवको यथावत
उपसचिवको परीक्षा स्थगित भए पनि पुस १४ गते प्रकाशित भएको सहसचिव पदको लिखित परीक्षाको नतिजा र त्यसपछि हुने अन्तर्वार्ता रद्द गरिएको छैन। लिखितमा उत्तीर्ण भएका १५ जना उम्मेदवारहरूको अन्तर्वार्ता र विषय प्रस्तुति २०८२ माघको पहिलो हप्ता देखि नै सञ्चालन हुने गरी कार्यतालिका मिलाइएको छ।

स्थगित गरिएको उपसचिव तहको परीक्षा अब कहिले हुन्छ भन्नेबारे आयोगले केही बताएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad