राजनीति


राष्ट्रपति पौडेलले पनि पठाए जाँचबुझ आयोगलाई जवाफ

राष्ट्रपति पौडेलले पनि पठाए जाँचबुझ आयोगलाई जवाफ

नेपालखबर
पुस २३, २०८२ बुधबार १४:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा जवाफ पठाएका छन्। आयोगले राष्ट्रपति पौडेलसँग भदौ २३ र २४ गतेका घटनासम्बन्धी जानकारी माग गर्दै एक साता अघि पत्र पठाएको थियो। 

प्रश्नसहित पठाएको पत्रको जवाफ राष्ट्रपतिबाट प्राप्त भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए। राष्ट्रपतिलाई आयोगले भदौ २४ गते के कसरी घटना हुन पुग्यो र त्यतिवेला तपाईं कहाँ हुनुहुन्थ्यो लगायतका प्रशनसहित जानकारी मागेको थियो। 

राष्ट्रपति पौडेलले ती प्रश्नको जवाफ दिएका हुन्। भदौ २४ गते प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी र तोडफोड गरेका थिए। नेपाली सेनाले राष्ट्रपति कार्यालयमै जोगाउन नसकेपछि पौडेललाई भैरवनाथ गणमा लगिएको थियो। 

सुरुमा सेनाको ब्यारेकमा बसेर सुरक्षित भएका राष्ट्रपति पछि सरकार गठनका लागि सक्रिय भएका थिए। राष्ट्रपति ब्यारेकमा बस्दा सेनाले नै सरकार गठनका लागि जेनजी लगायत विभिन्न शक्तिसँग छलफल थालेको थियो। 

राष्ट्रपति कार्यालयमा भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीकै सिफारिसमा त्यसैदिन प्रतिनिधि सभा विघटन गरिएको थियो। 

सरकार बनेको दोस्रो साता असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो।

आयोगले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेरै बयान लिएको थियो भने अन्य विशिष्ट व्यक्तिलाई लिखित पत्र मार्फत घटना विवरणबारे जवाफ माग गरेको थियो। 

आयोगले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग पनि जवाफ माग गरेको थियो। घिमिरेले मंगलबार जवाफ बुझाइसकेका छन्। राष्ट्रिय सभाका अध्यक्ष दाहालले जवाफ पठाउन बाँकी छ। 

यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पनि जवाफ बुझाइसकेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले भने लिखित जवाफ नै दिएका थिए। उनलाई बयानका लागि बोलाउन पुगेको टोली लिखित जवाफ बोकेर फर्किएको थियो। 

तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने आयोगमै पुगेर बयान दिएका थिए। 

लेखक र ओलीसहितलाई बयानअघि स्थानहद तोकिएको थियो। बयान सकिएसँगै आयोगले उनीहरूको स्थानहद पनि फुकुवा गरिसकेको छ।

यो पनि पढ्नुहोस् : सभामुख र राष्ट्रिय सभाध्यक्षलाई जाँचबुझ आयोगका ४८ प्रश्न : सभाको सुरक्षामा तपाईंको दायित्व के हुन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad