राजनीति


सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी तेर्स्याइनु शुभ संकेत होइन: बाबुराम भट्टराई

सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी तेर्स्याइनु शुभ संकेत होइन: बाबुराम भट्टराई

नेपालखबर
असार ३०, २०८३ मंगलबार ५:३९, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सोमबार सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी-व्यवसायीका कार्यस्थलअगाडि शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो, त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरुरी भएको बताएका छन्।

यदि त्यस्तो काम सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुष्प्रयत्न भएको उल्लेख गर्दै त्यसविरुद्ध सबै दल र नागरिक एकताबद्ध भएर सशक्त प्रतिवादमा उत्रिन उनले आह्वान गरेका छन्। 

‘यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबिच दुरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ’, पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थीरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुनः राजनीतिक द्वन्द्व र अस्थीरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुखसमृद्धिका लागि पटक्कै शुभ संकेत हुँदै हैन। अतः यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौँ। राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्।’

यस्तो छ बाबुराम भट्टराईको पूरा भनाइ

प्रमुख सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी-व्यवसायीका कार्यस्थलअगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो, त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरुरी भएको छ।

यदि यो सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुष्प्रयत्न हो, जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ।

यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबिच दुरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ।

जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थीरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुनः राजनीतिक द्वन्द्व र अस्थीरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख-समृद्धिका लागि पटक्कै शुभ संकेत हुँदै हैन।

अतः यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौँ। राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्!

सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापा र भाटभटेनीअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी फेला परेका थिए। 

सोमबार नै क्रेनको सहयोगमा उठाएर ट्राफिक प्रहरी कार्यालय लगिएका ती गाडीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर प्रहरीले सम्बन्धित व्यक्तिको जिम्मा लगाएको ट्राफिक प्रहरीका एक अधिकारीले बताए।

जथाभावी पार्किङ गरेको आरोपमा प्रहरीले सामान्य जरिवाना तिराएर सम्बन्धित व्यक्तिलाई गाडी फिर्ता दिएको हो। कुनै गाडीका चालक त कुनैका धनी सोमबार साँझ नै आफ्ना सवारीसाधान बुझ्न ट्राफिक प्रहरी कार्यालय पुगेका थिए। 

भाटभटेनीअगाडि बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुनडाई क्रेटा गाडी थियो। अनलाइन खबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कारचाहिँ सुनिल पौडेलको रहेको खुलेको छ। उक्त गाडी उनका भाइले लगेर गेटमा छाडेको खुलेको छ। 

कान्तिपुर पब्लिकेसन्सको गेटमा बा प्रदेश–०१–०३४ च ४० नम्बरको जिप पार्किङ गरिएको थियो। यो गाडी रास्वपाकै नेताको भएको खुलेको छ। रौतहट घर भएका रवि जैसवालको गाडी पुष्टि भइसकेको छ। 

हिमालय टेलिभिजनको गेटमा राखिएको बा १० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad