बिदा स्वीकृत नगरी ९० दिनभन्दा बढी कार्यालयमा उपस्थित नभएपछि सहसचिव नरेन्द्रकुमार रानालाई सफाई पेस गर्न सरकारले सूचित गरेको छ।
मंगलबार सूचना जारी गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव रानालाई १५ दिनभित्र सफाइ पेस गर्न ताकेता गरेको हो। राना सोही मन्त्रालयको अतिरिक्त समूहमा कर्मचारी छन्।
सहसचिव राना २०८२ माघ ११ गतेदेखि लगातार कार्यालयमा अनुपस्थित छन्।
'निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नु नपर्ने उचित आधार र कारण केही भए १५ दिनभित्र सफाइ पेस गर्न सूचना प्रकाशन गरिएको छ', मन्त्रालयको सूचनामा उल्लेख छ।
उनी भ्रष्टाचारसम्बन्धी प्रकरणमा अख्तियारले बयानका लागि खोजी गर्दा समेत फेला नपरेपछि उपस्थित गराइदिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिदिन ताकेता गरिरहेको हो।
सहसचिव राना भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विवादमा परेका थिए। पछिल्लो समय उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए। कतै पनि पोष्टिंग नदिएकाहरूलाइ सरकारले अतिरिक्त समूहमा राख्छ।
सहसचिव राना २०८२ वैशाखमा संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका थिए। केही वर्ष अघि अर्थ मन्त्रालयमा रहँदा उनी नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष पनि भएका थिए।
Shares

प्रतिक्रिया