राजनीति


सभामुख र राष्ट्रिय सभाध्यक्षलाई जाँचबुझ आयोगका ४८ प्रश्न : सभाको सुरक्षामा तपाईंको दायित्व के हुन्छ?

सभामुख र राष्ट्रिय सभाध्यक्षलाई जाँचबुझ आयोगका ४८ प्रश्न : सभाको सुरक्षामा तपाईंको दायित्व के हुन्छ?

नेपालखबर
पुस २३, २०८२ बुधबार १३:२०, काठमाडौँ

गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग सोधपुछ गरेको छ। 

आयोगले एक साताअघि पत्रमार्फत लिखित प्रश्न पठाएर दुवै जनासँग जवाफ माग गरेको हो। जसमा सभामुख घिमिरेले मंगलबार नै आयोगलाई जवाफ पठाइसकेका छन्। 

राष्ट्रिय सभाका अध्यक्ष दाहालले भने जवाफ पठाएका छैनन्। दाहाल हाल दिल्लीमा रहेकाले जवाफ पठाउन ढिला भएको उनको सचिवालयले जानकारी दिएको छ। 

जाँचबुझ आयोगले घिमिरे र दाहाललाई समान प्रकृतिका प्रश्न पठाएको थियो। आयोग स्रोतका अनुसार दुवै जनालाई ४८-४८ वटा प्रश्नसहित पत्र पठाइएको थियो। ‘कतिपय प्रश्नहरू सैद्धान्तिक थिए। कतिपय त्यतिवेला सभामुख र राष्ट्रिय सभा अध्यक्षले देखेका भोगेका विषयहरू समेटिएको थियो’, आयोग स्रोतले भन्यो, ‘सभा हलको सुरक्षामा तपाईंहरूको दायित्व के कति हुन्छ भनेर सोधिएको थियो।’

यस्तै आयोगले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते के के भएको थियो? तपाईं कहाँ हुनुहुन्थ्यो? घटनाबारे तपाईंले कसरी थाहा पाउनु भयो? कति बजे थाहा पाउनु भयो? गोली चलेको कतिवेला थाहा पाउनु भयो? लगायतका प्रश्न पठाएको थियो। 

भदौ २४ गतेको घटनाबारे र संवैधानिक दायित्वबारे पनि दुवै जनालाई आयोगले सोधेको छ। यी सबै प्रश्नको जवाफ घिमिरेले मंगलबार नै पठाइसकेका छन्। 

जाँचबुझ आयोगले जेनजी आन्दोलनमा प्रत्यक्ष जोडिएका सरकारी अधिकारीहरूलाई आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर बयान लिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउन गएको आयोगको टोली लिखित जवाफ लिएर फर्किएको थियो। टोलीअघि नै ओलीले बयान तयार गरिसकेका थिए। 

सुरुमा बयान नै दिन्न भनेका ओली अन्तिम समयमा घरमै आए बयान दिन सहमत भएका थिए। ओलीले भने आयोग नै अवैधानिक भन्दै खारेज गर्न माग गरेका थिए। तर आयोग पनि उनको बयान घरमै पुगेर लिन तयार भएपछि बयान लिने–दिने समझदारी बनेको हो। 

यससँगै आयोग बयानको अन्तिम चरणमा पुगेको छ। माघ ९ गतेसम्ममा बयान सकेर प्रतिवेदन बुझाउने आयोगको तयारी छ। 

सुरुमा तीन महिनाको अवधि तोकेर गठन भएको आयोगको म्याद पुस ९ गते सकिएको थियो। तर समय अपुग भएको भन्दै सरकारले एक महिना थप गरेको हो। आयोगले भदौ २३ र २४ गतेका घटना जाँचबुझ गरेर कारबाही सिफारिस समेत गरेर प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad