राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सँगको तालमेलमा ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको जसपा नेता सुरेन्द्र झाले बताए। ‘मनोनयन दर्ताका लागि जाँदै हुनुहुन्छ,’ झाले भने।
काठमाडौँमा रहेका ठाकुर उम्मेदवारको टिकट लिएर जनकपुर जान लागेका हुन्। जनकपुरस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच पुस १४ मा एकता गर्ने निर्णय भएको थियो। दुवै दलबीच एकीकरण भएपछि जसपाले ठाकुरलाई उम्मेदवार बनाएको हो। ठाकुर लोसपाका अध्यक्ष थिए।
राष्ट्रिय सभामा कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल भएको छ। राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट बागबन्डा भएको छ।
Shares

प्रतिक्रिया