राजनीति


रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ताको लहर, बालेन टिमकी सिर्जना सिज्जु पनि बाहिरिइन्

रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ताको लहर, बालेन टिमकी सिर्जना सिज्जु पनि बाहिरिइन्

नेपालखबर
पुस २३, २०८२ बुधबार १०:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएका खासगरी सेलेब्रिटीहरू एकपछि अर्कोले उम्मेदवारी फिर्ता गरिरहेका छन्। 

यसै क्रममा कामठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को टिमबाट समानुपातिक उम्मेदवार बनेकी सिर्जना सिज्जुले पनि आफ्नो नाम फिर्ता लिएकी छन्। 

आज (बुधबार) बिहान फेसबुकमा लामो स्टाटस लेख्दै सिज्जुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। 

‘ठाउँ ओगटेको’ भनेर व्यापक आलोचना भएपछि सिर्जनाले आफूलाई कसरी बालेन टिमबाट समानुपातिक सूचीमा समेटियो भन्ने विषयमा लामो स्पष्टीकरण पनि दिएकी छन्। 

उनले लेखेकी छन्, ‘कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको हो। यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो। यसका लागि म आभारी छु।नयाँ आउने सबैलाई शुभकामना। तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो। हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैँ काम गर्न तयार छौँ।’

यस्तो छ उनको पूरा स्टाटस :

जीवनका सबै निर्णयहरूले सधैँ न्याय पाउँदैनन्...

हामी तीन महिनादेखि ६ वटा गन्तव्यको एक्स्प्लोरेसन यात्रामा थियौँ।

यात्रा सकिएलगत्तै टिमसँग सल्लाह गरेर यसपालि म सोलो ट्राभलमा ढोरपाटनतर्फ निस्किएकी थिएँ। यसपटकको यात्रा भिडिओ बनाउने उद्देश्यका लागि थिएन। ढोरपाटनमा ट्राभल र टुरिजम सेक्टरमा अझै केही नयाँ, केही फरक काम गर्न सकिन्छ कि भन्ने कुरा बुझ्नु थियो। यही क्रममा कहिले रुकुमपूर्व, कहिले चुङ्री बुकी, कहिले बुर्तिबाङ, कहिले ढोरपाटन गर्दै थिएँ। 

त्यही क्रममा रुकुमपश्चिम घर जानुपर्ने भयो। समस्या के थियो भने बुर्तिबाङबाट डाइरेक्ट गाडी रुकुमपश्चिम (खलङ्गा) जाँदैनन्। बीचबीचमा तीनचारवटा गाडी फेर्नुपर्छ। तर एउटा विकल्प थियो- बुर्तिबाङ बजारबाट १०/१५ मिनेट हिँडेर मध्यपहाडी लोकमार्ग गएर बिहान ३/४ बजे बसियो भने नाइट गाडी भेटिन्छ, जुन चौरजहारीसम्म जान्छ। त्यही गाडी भेट्न बिहानै मध्यपहाडी पुगेँ।

गाडीवालाले झुक्याएछ। गाडी रुकुमकोट सम्ममात्र जाने भए पनि चौरजहारीसम्म जान्छ भन्यो। रुकुमकोट पुगेपछि थाहा भयो- गाडी यहीँसम्म रहेछ। रुकुमपश्चिम जान अर्को गाडी चढ्नुपर्‍यो। यस्ता नयाँ गाडीवाल पुरानो गाडीका यात्रुलाई मन नपर्ने पराईझैँ व्यवहार गर्छन्। हुन त उनीहरूको पनि आफ्नै केही बाध्यता होला। 

चुपचाप सोचेँ- अझै पनि मध्यपहाडी लोकमार्गमा चल्ने गाडीहरूको अवस्था यस्तो छ। टुरिजम हब भनेर चिनिएको यो लोकमार्ग साना-साना समस्याले भरिएको छ। सुधार साना-साना कुराबाट सुरु गर्न आवश्यक छ।

म आफूले सक्दो गर्नेछु।

यसै सोचेर रुकुमपश्चिम पुग्दै गर्दा गाडीमै फोन आयो।

'हामी बालेन टिमबाट बोल्दै छौँ, तपाईंलाई समानुपातिक सूचीमा राख्ने विषय छ। आजै ३ बजे नाम पठाउनुपर्नेछ। अनुमति दिनुहुन्छ?'

मैले भनेँ, 'सर! म यात्रामा छु। मलाई निर्णयका लागि समय चाहिन्छ। अहिलेसम्म केही सोचेकी छैन।'

योभन्दा अघि मेरो कसैसँग पनि राजनीतिक विषयमा कुनै कुरा भएको थिएन।

केही बेरपछि फेरि फोनमा कुराकानी भयो। देशको लागि योगदान दिने अवसर थियो। मैले हतारमा केवल यही एउटा कुरा मात्र सोचेर 'नाइँ' भन्न सकिनँ।

त्यसपछि रुकुम खलङ्गाबाट गाडी फेरेर सिम्ली पुगेँ। त्यहाँ बल्ल बुवालाई भेटेँ। बुवासँग म के कामले ढोरपाटन आएको भन्ने विषयमा छलफल भयो। बुवाले सुन्तला र किबीको आम्दानीबारे सुनाउनुभयो। अन्य खास कुरा भएन।

घर आएँ, दुईतीन दिन बसेँ। घरमा माहोल अलि फरक थियो। सुन्तला टिप्ने काम चलिरहेको थियो। त्यसमै व्यस्त भइयो।

मेरो ध्यान यता समानुपातिक सूचीतिर गएन। 

बीचमा कसैको फोन पनि आएन, मैले पनि गरिनँ।

म फेरि बुर्तिबाङ फर्किएँ।

काममा निकै व्यस्त थिएँ। भोलिपल्ट तमु ल्होसारका कारण सरकारी कार्यालय बन्द हुने भएकाले कामको चाप झनै थियो। त्यही बेला फेरि फोन आयो नागरिकताको प्रतिलिपि चाहियो भनेर। चिनेकै साथी भएकाले धेरै नसोधी पठाएँ। बेलुका अत्यन्त थकित थिएँ, कसैसँग कुरा भएन।

भोलिपल्ट बिहान बन्दसूचीमा नाम आयो।

ठेगानामा त्रुटि थियो। 'सायद म होइन होला'भन्ने लाग्यो।

त्यही दिन ढोरपाटन निस्कनु थियो। बिहानै हिँडेँ। दिनभर व्यस्त रहेँ।

बेलुका बुर्तिबाङ फर्केर सामाजिक सञ्जाल हेर्दा कतै बधाई, कतै जिज्ञासा, कतै गाली देखेँ।

मेरो जीवनका धेरै महत्त्वपूर्ण निर्णयहरू यात्रामै भएका छन्।

ती निर्णयहरू प्रायः सही नै साबित भए।

तर यो निर्णयचाहिँ अलि हतारमा भएछ कि जस्तो लाग्यो।

केही दिन बुर्तिबाङमै काम थियो। काम सकेर काठमाडौँ फर्किंदा गाडीमै धेरै कुरा सोच्ने मौका पाएँ। त्यतिन्जेल केही साथीहरूले बधाई लेखिसकेका रहेछन्। कतिपयले बुवाको राजनीतिक पृष्ठभूमिसँग जोडेर टिप्पणी गर्नुभएको थियो। 

आजसम्म मैले जीवनमा गरेका सबै निर्णयहरू म आफैँले गरेकी छु। बरु पछि परिवारसँग सल्लाह लिन्छु। तर निर्णय गर्ने जिम्मेवारी र अधिकार सधैँ आफ्नो हातमै राख्छु। 

अब राजनीति सम्बन्धी कुरा स्पष्ट पारौँ।

म जन्मिनुअघि देखि नै मेरा बुवा राजनीतिमा संलग्न हुनुहुन्थ्यो।

मेरो हुर्काइबढाइ त्यो बेला रुकुम जिल्लाको विकट ठाउँ मानिने अर्मा-धनारामा भयो।

गाउँमै पढेँ, गाउँमै हुर्किएँ।

गाउँ अझै पनि गाउँ नै छ, जहाँ राजनीतिक बहस सामाजिक सञ्जालमा हुँदैन। गाउँमा सहरका एजेन्डा सुनिँदैनन्, जसरी सहरले गाउँका एजेन्डा सुन्दैन।

सारा बहस वनको बैठक, आमा समूहको बैठक, घर बनाउने ठाउँ, सानो बजार, मेलापात, पानी पँधेरोमै हुन्छ।

हुर्कंदै गर्दा बुवाको राजनीतिक जीवनलाई नजिकबाट देख्ने र बुझ्ने अवसर पाएकी छु। पार्टीभित्रका आन्तरिक द्वन्द्व, ठूला मान्छेको रजगज, नातावाद-परिवारवाद पनि बुझेकी छु। मसँग राजनीतिक चेतना र ज्ञान दुवै छ। कूटनीति राजनीतिभित्र छिरेपछि बुझिने कुरा हो।

मेरो परिवारको राजनीतिक पृष्ठभूमि यही हो। बस् मैले कहिल्यै सार्वजनिक रूपमा प्रस्तुत गरिनँ। किनकि परिवारको नाम बेचेर अघि बढ्न मलाई आवश्यक र उचित दुवै लागेन। बाजेले राजनीति गरे, बुवाले गरे अब मैले पनि राजनीति गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन। बुवाले पनि कहिल्यै दबाब दिनुभएन।

न मैले बुवाको बाटो रोजे न आमा, हजुरआमाहरूको बाटो।

हाम्रो घरमा सबैलाई आफ्नो बाटो आफै तय गर्ने स्वतन्त्रता छ।

सायद यही स्वतन्त्रताले मलाई ट्राभलर बनायो।

मेरो बुवाको राजनीतिक जीवनलाई लिएर प्रश्न गर्नुको कुनै औचित्य छैन।

हो, हामीले समाजलाई कतै न कतैबाट योगदान दिएका छौँ।

तर बुवाको योगदान र मेरो योगदान फरकफरक धारका छन्।

मैले वन विज्ञानमा स्नातक गरेँ।

सोलो ट्राभल सुरु गरेँ।

पर्यटनको क्षेत्रमा केही गर्नुपर्छ, लुकेका गाउँ-गन्तव्य चिनाउनुपर्छ भनेर कर्णालीबाट यात्रा सुरु गरेँ। अहिले देशका विभिन्न स्थान घुम्दै छौँ।

आज समानुपातिक सूचीमा नाम देखिएपछि केही प्रश्न उठे-

'भिजन के हो?'

'एजेन्डा के हो?'

'अवसरवादी हो?'

'ठाउँ किन ओगटेको?'

तपाईंहरूका प्रश्न नाजायज होइनन्।

मेरो भिजन, एजेन्डा र अभियान विस्तारमा बुझ्न चाहनुहुन्छ भने-

हुम्लाको लिमी भ्यालीका जनतालाई सोध्नुहोस्- १६/१७ घण्टा ट्याक्टर चढेर लिमी पुगेर १०/१५ दिन हिँड्नुको उद्देश्य के थियो भनेर।

बाजुरा हुम्लाको सिमानामा पर्ने रानिसैनामा तिर्पालले बेरेर होटल चलाइरहेका खगाल गाउँका बासिन्दालाई सोध्नुहोस् हामी बर्खामासको झरीमा किन त्यहाँ पुगेको थियौँ भनेर।

मुगु, हुम्ला, कर्णाली करिडोरमा ट्रक चलाउने, तुइन चढ्ने स्थानीयलाई सोध्नुहोस्। 

डोल्पाको कागमारामा वैशाख-जेठमा हिउँमाथि यार्सागुम्बा टिप्नेहरूलाई सोध्नुहोस्- कति दिन यार्सा टुरिजम हबको सपना सुनाइयो भनेर।

ढोरपाटनका गोठालाहरूलाई सोध्नुहोस्- २२ दिन लगातार फागुने धुरी, ढुक बुक्की, पुपाल सुनदहसम्म पुगेर बुक्कीमा अब टेन्ट हाउस, गोठ-स्टे, गर्नु पर्छ यि पाटनमा मान्छे घुमाउन पर्छ भन्दै बोल्ने को थियो भनेर।

रुकुमपूर्व चुङ्री बुक्की, तकसेरा, मैकोटका होमस्टे सञ्चालन गरिरहेका गाउँहरूलाई सोध्नुहोस्। बर्खामा फुल्ने फूल मात्र हेर्न कति मानिस आए र रुकुमकोटबाट बुर्तिबाङसम्मका होटल व्यवसाय कति नाफामा गए भनेर। 

भोजपुर-खोटाङका बासिन्दालाई सोध्नुहोस्- मुन्धुम ट्रेलमा कति दिन भोकै हिँडेर भिडियो बनाउने को थियो र अहिले कति पर्यटक आउँछन् त्यहाँ भनेर।

इलाम सन्दकपुर-पानीटारलाई सोध्नुहोस्- एक महिना एक्लै घुमेर कति प्रचार गरियो भनेर।

गोर्खाको नागेपोखरी पुगेर सोध्नुहोस्- हामीले गरेको गन्तव्य प्रवर्द्धनको भिजन कस्तो थियो भनेर।

जुम्ला सिंजा उपत्यका लाई सोध्नुहोस्- २०/२५ दिनसम्म सिंजाको लुट्कु गाउँमा बसेर ढलेका भत्किएका इतिहास खोज्दै को हिँडेको थियो भनेर।

बर्दिया र कोसिलाई सोध्नुहोस्- हाम्रो सानो भिडिओको योगदान के छ पर्यटनमा भनेर।

२०७९ सालको भूकम्पले घर ढल्दा २ दिनसम्म थाहा नपाउने म सिन्धुपालचोकको पाँचपोखरितिर किन घुमिरहेको थिएँ, त्यो पनि सोध्नुहोस्।

यी सबले जवाफ दिन समय लाग्छ। त्यसैले अहिले यति आफैँ भन्छु-

हामीले अहिल्यै लाखौँलाई देशमै बस्न सक्ने वातावरण बनाउन नसकेका होउँला। तर हजारौँलाई 'देशमै केही गर्न सकिन्छ'भन्ने आशा देखाइरहेका छौँ। विदेशमा बस्नेहरूलाई केवल भावनाले होइन, पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छौँ।

सयौँले लुकेका गन्तव्यमा होटल, होमस्टे, व्यवसाय सुरु गरेका छन्।

हामी उनीहरूको साथमा उभिएका छौँ।

भिडिओ र प्रचारप्रसारमार्फत आन्तरिक पर्यटनलाई अघि बढाएका छौँ।

दिगो पर्यटनको अवधारणा स्थानीय स्तरमै सिकाइरहेका छौँ।

माटो टेकेका छौँ, गाउँबस्ती डुलेका छौँ।

सहरमा बसेर चिल्ला भाषण गर्नु र यात्रा गर्नु एउटै हुँदैन।

पुरानालाई गाली गर्नु र नयाँलाई वाहवाह गर्नु अबको एजेन्डा हुनु हुँदैन।

नेतालाई गाली गरेर चुनाव लड्नु, तर आफ्नै एजेन्डा नहुनु त्यसले केही बदलिँदैन। सामाजिक सञ्जालका एजेन्डाले हुम्ला, जुम्ला, डोल्पा जाजरकोट मनाङ मुस्ताङ कर्णाली, सुदूर, कञ्चनजंघा, ताप्लेजुङसम्म काम गर्छन् कि गर्दैनन्, यो बुझ्न जरुरी छ।

राजनीति रहरले मात्र, राज्यसत्ताको पावरले मात्र हुने कुरा होइन।

आत्तिनुभएको छ भने नअत्तिनुहोस्। म अहिले राजनीतिमा आउँदिनँ।

तर यसको अर्थ यो होइन कि म राजनीति बुझ्दिनँ, गर्न सक्दिनँ वा मसँग भिजन छैन।

म कुनै ठाउँ ओगटेर बसेकी छैन।

कैयौँ रात निलो आकाश सिरानी बनाएर सुतेकी छु।

ओडारको भित्तामा टाँसिएर रात काटेकी छु।

खुला चौरमा थकाइ मारेकी छु।

गोठमा बास बसेकी छु।

घरघरमा बास मागेर बसेकी छु।

पुगेका ठाउँ जति सबै मेरा आफन्त भएका छन्।

मलाई साँघुरो ठाउँ ओगट्न आवश्यक छैन।

यति बुझ्नुहोस्- म कर्णाली हुँ, जो सधैँ दिन्छ, पाउने आशा नराखी।

कर्णालीबाट अब्बल प्रतिनिधि पठाउन सहयोग गर्नुहोस्।

म सधैँ साथमै छु।

अन्त्यमा,

कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको हो। यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो। यसका लागि म आभारी छु।

नयाँ आउने सबैलाई शुभकामना।

तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु।

यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो।

हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षताअनुसार सधैँ काम गर्न तयार छौँ।

आवश्यक परेको खण्डमा ।

अब आउने पर्यटन टिम, पर्यटन मन्त्रीले देशको जीडीपी पर्यटनबाट दोब्बर बनाउने लक्ष्य लिएर आउनुहोला।

पर्यटन संवेदनशील क्षेत्र हो यहाँ ठूला होइन, सानासाना कामले परिवर्तन ल्याउनुपर्छ।

पर्यटनले रोजगारी छिटो सिर्जना गर्छ र ग्रामीण अर्थतन्त्रसँग जोडिन्छ। हाम्रो देशको आर्थिक पाटो बलियो बनाउने सबैभन्दा ठोस आधार पर्यटन नै हो भन्ने कुरामा दुईमत छैन। हामी पनि आउँदा दिनमा पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउने दिशामा निरन्तर लाग्नेछौँ।

मेरा प्यारो शुभचिन्तकहरू!

तपांईहरूको सदासयतालाई मेरो सम्मान छ। तर अहिले मलाई राजनीतिमा आउन दबाब नदिनुहोस्। कृपया मैले गरिरहेकै कर्ममा साथ दिनुहोस्।

जब सबथोक सही हुन्छ कुनै समय, सायद तपाईंले सोचेको जस्तै पनि हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad