राजनीति


कर्णालीबाट मिनासिंह रखाललाई एमालेले बनायो राष्ट्रियसभाको उम्मेदवार

कर्णालीबाट मिनासिंह रखाललाई एमालेले बनायो राष्ट्रियसभाको उम्मेदवार

दिनेश बुढा
पुस २३, २०८२ बुधबार १०:४०, सुर्खेत

नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा कर्णाली प्रदेशबाट दैलेखकी मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ। एमाले केन्द्रीय सदस्य समेत रहेकी रखाललाई कर्णाली प्रदेशबाट उम्मेदवार बनाइएको हो। 

राष्ट्रिय सभा निर्वाचनका लागि बुधवार बिहान १० बजेदेखि मनोनयन सुरु भएको छ। रखाललाई राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट महिला क्लष्टरमा अघि सारिएको एमाले स्रोतले जनाएको छ। 

यसअघि पार्टीको केन्द्रीय नेताहरूबीच कर्णालीबाट पुरुष उम्मेदवार बनाउने कि भन्ने बहस भएको थियो। तर, अन्तिममा महिला क्लष्टरबाट रखाललाई उम्मेदवार बनाइएको हाे। 

रखालले २०४७ सालमा एमालेको पार्टी सदस्यता लिएकी थिइन्। त्यसपछि २०५४ सालमा पहिलोपटक दैलेखको नेकपा एमालेको नारायण नगरपालिका नगर कमिटि सदस्य हुँदै उनी राजनीतिमा सक्रिय भएकी थिइन्। 

त्यसपछि नेकपा एमाले जिल्ला कमिटी दैलेखको सदस्यहुँदै पार्टी उपसचिव, साविकको भेरी अञ्चलको सदस्यदेखि तीन कार्याकाल नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर पनि रखालले काम गरिसकेकी छन्।

उनी नेकपा एमालेको ९ र १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य र एमाले–मओवादीबीच भएको एकतापछि नेकपाको पनि केन्द्रीय सदस्य बनेकी थिइन्। 

राखलले लामो समय नेकपा एमालेको जनवर्गीय संगठन अखिल महिला संघको केन्द्रीय सचिव भएर पार्टीको गतिविधिमा संलग्न रहेको जानकारी दिइन्।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्। रखालले आफु २०५४ सालबाट हालसम्म निरन्तर सक्रिय भएर पार्टीको काममा लागिरहेको बताइन्।

यस्तो छ कर्णाली प्रदेशमा मतभार
नेपाली कांग्रेस कर्णालीमा मतभारमा सबै भन्दा अगाडि छ। यो दलसँग स्थानीय तहको प्रमुख/अध्यक्ष गरि ६०८ र उप–प्रमुख र उपाध्यक्षबाट ५३२ र प्रदेशसभामा ७४२ गरि जम्मा एक हजार ८७३ मतभार छ।

यस्तै, नेकपा माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख/अध्यक्ष गरी ४३७ र उप–प्रमुख/उपाध्यक्षको ४७५ र प्रदेश सभा सदस्यहरूबाट ६८९ गरि जम्मा एक हजार ६०१ मतभार छ। 

नेकपा एमालेसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी २८५ र उप–प्रमुख/उपाध्यक्षबाट ३८० र ५३० प्रदेश सभा सदस्यहरूबाट गरी जम्मा एक हजार १९५ मतभार छ। 

एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी ७६ र उप–प्रमुख/उपाध्यक्ष गरि ११४ र प्रदेश सभा सदस्यमा ५३ गरी जम्मा २४३ मतभार छ। 

स्वतन्त्रबाट स्थानीय तहका प्रमुखमा पाँच जना निर्वाचित भएका छन्। उनीहरूको मतभार ९५ रहेको छ। यी स्वतन्त्र जितेका उम्मेदवारमध्ये केही आफ्नो पार्टीमा फर्किएका छन्। कर्णाली प्रदेशसभामा स्वतन्त्र तथा राप्रपाबाट एक/एक गरी १०६ मतभार छ।

यस्तै, राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाबीच गठनबन्धन भन्दा कर्णालीबाट हुने २ सिटको निर्वाचनमा सर्वसम्मत हुने सम्भावना देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad