नेपाली कांग्रेसमा उत्पन्न विशेष महाधिवेशनको विवाद समाधानका लागि ‘संकल्प सम्मेलन’ गर्नेगरी छलफल अगाडि बढेको छ। पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट निर्णय गराएर १५ औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा सारेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमै विशेष महाधिवेशन गर्ने तयारी अगाडि बढाएका थिए।
त्यसले पार्टीमा विग्रह पैदा हुने खतरा बढेपछि विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीसँग संवाद अगाडि बढाएको नेताहरूले बताएका छन्।
कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा, शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच घनिभूत रूपमा संवाद भइरहेको कांग्रेस नेताहरू बताउँछन्। स्रोतका अनुसार छलफलमा पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको ‘सेफल्यान्डिङ’का लागि केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिम साता ‘संकल्प सम्मेलन’ आह्वान गर्नुपर्ने महामन्त्री शर्माको प्रस्ताव छ।
यस्तै फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने महामन्त्री शर्माको अर्को प्रस्ताव छ।
‘महामन्त्रीजीले यी दुई वटा विषय अगाडि सार्नु भएको छ। चार जना नेताबीच यसैको वरिपरि छलफल भइरहेको छ,’ संस्थापन पक्षीय केन्द्रीय सदस्य योगेन्द्र चौधरीले भने। संकल्प सम्मेलनले वर्तमान विषम परिस्थितिमा जनतामाझ जाने राजनीतिक एजेन्डा तय गर्ने गरी सहमति हुन सक्ने उनले बताए।
‘पार्टीभिको रिफर्मको कुरा विशेष महाधिवेशन पक्षधर साथीहरू लिएर जानुहुन्छ। यो महाधिवेशन नेतृत्व चयनको दिशामा जाँदैन। महामन्त्रीज्यूहरूले फुटेको पार्टीको नेतृत्व गर्नुहुन्छ भन्ने लाग्दैन,’ उनी भन्छन्।
विशेष महाधिवेशनलाई संकल्प सम्मेलनमा रूपान्तरण गरे सिंगो कांग्रेसले नेतृत्व लिने स्थिति आउने चौधरीको बुझाइ छ।
‘विशेष महाधिवेशन संकल्प सम्मेलनमा रूपान्तरण भयो भने सिंगो पार्टी सहभागी हुनुपर्छ। वर्तमान परिस्थिति अनुकूलको नीति र एजेन्डा तय गर्ने गरी संकल्प सम्मेलन अगाडि बढ्दा सभापति शेरबहादुर देउवालाई पनि भेलामा पुग्ने वातावरण बनाउनुपर्छ,’ उनी भन्छन्।
महामन्त्री थापानिकट केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनलाई एकता र रूपान्तरणको महाधिवेशन बनाउने कुरा संस्थापन पक्षको प्रस्तुतिमा भर पर्ने बताए।
‘विषेश महाधिवेशनबारे शेरबहादुर देउवले आफू पक्षीय नेताहरूसँग छलफल गरिराख्नु भएको छ। उहाँहरू प्रस्तुति कस्तो हुुन्छ हेरौँ। संस्थापन पक्षको निर्णय पार्टी एकताबद्ध बनाएर जानुपर्छ भन्ने गरी आयो भने एकताबद्ध हुने गरी विशेष महाधिवेशन पनि एकता र रूपान्तरणको महाधिवेशन बन्छ,’ उनले भने, ‘तर, उहाँहरू स्थितिलाई थप बिगार्ने गरी आउनुभयो भने हामी पनि विशेष महाधिवेशनलाई सार्थक महाधिवेशन कसरी बनाउने भन्ने गरी अगाडि बढ्छौँ।’
विशेष महाधिवेशनका निर्णयलाई साझा संकल्पका रूपमा ग्रहण गर्ने परिस्थिति निर्माणमा काम भइरहेको आचार्यको भनाइ छ।
‘उहाँहरू पार्टी रूपान्तरणको एजेन्डामा सकारात्मक हुनुभयो भने हामी एकताको पक्षमा सकारात्मक छौँ। विशेष महाधिवेशन जनताको एजेन्डा र पार्टीभित्रको एकताको पक्षमा उभिन्छ,’ उनले भने, ‘त्यही स्पिरिट बोकेर निर्वाचनमा जान्छौँ र आगामी वैशाख २८–३१ का लागि निर्धारित नियमित महाधिवेशनलाई विशेष महाधिवेशन पक्षधरले पनि ग्रहण गर्छौँ।’
विशेष महाधिवेशनका विपक्षमा खरो ढंगले उभिँदै आएका सहमहामन्त्री महेन्द्र यादवले विशेष महाधिवेशनलाई भेलामा रूपान्तरणको तयारी भइरहेको भन्दै पार्टी विभाजन नहुने विश्वास व्यक्त गरे।
‘लोकतान्त्रिक पार्टीमा गुटगत भेला र छलफल हुन स्वाभाविक हो। पार्टीभित्रको विवाद साम्य पार्न कार्यवाहक सभापति र रमेश लेखकजीले काम गरिराख्नु भएको छ। महामन्त्रीहरूले पार्टी फुटाउदैनौँ भनिसक्नुभयो,’ उनले भने।
महामन्त्रीद्वय थापा र शर्माले पार्टी विभाजन नहुने बताएपछि विशेष महाधिवेशन हुँदा पनि त्यो भेलामा रूपान्तरण हुने संस्थापन पक्षका नेताहरूको बुझाइ देखिन्छ।
पुस १८ को कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले भनेका थिए, ‘हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौँ, दृढतापूर्वक भन्छु– हामी नेतृत्व गर्नेछौँ। कांग्रेस छोडेर जालान् या फुटाऊलान् भन्ने कसैले नसोच्नू। हामी पर्खिन्छौँ पनि, फर्किन्छौँ पनि।’
यस्तै महामन्त्री थापाले पनि विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने दाबी गर्दै आएका छन्। विशेष महाधिवेशन विधानको धारा १७ (२) को अधिकार भएको भन्दै विधान कार्यान्वयन गर्दा पार्टी विभाजन नहुने उनको दलिल छ।
‘म अर्को महामन्त्री विश्वप्रकाश शर्माको समेत ग्यारेन्टी लिएर भन्छु, पार्टी फुट्दैन, हामी पार्टी फुट्न दिँदैनौं,’ थापाले भने, ‘पार्टी फुट्छ, फुटाउँछ भन्ने कुरा अब नगर्नु होला।’
थापा विशेष महाधिवेशनको दस्तावेज लेखनमा व्यस्त छन्।
काठमाडौँको अनामनगरमा सम्पर्क कार्यालय खोलेर विशेष महाधिवेशन पक्षधरहरूले आन्तरिक गृहकार्य गरिरहेका छन्। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार आइतबारबाट विशेष महाधिवेशनको आयोजना स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काम अगाडि बढेको छ। यता सभापति शेरबहादुर देउवाको निवास महराजगञ्जमा बसेको संस्थापन पक्षका शीर्ष नेताको बैठकले नियमित महाधिवेशनको तिथि–मिति तोकिसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी सहमहामन्त्री डिना उपाध्यक्षका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको निकासका लागि नीतिगत निणर्य लिने छ।
‘सभापतिज्यूले पार्टीभित्रको विवाद मिलाउन कुरा गर्नुहोस् भन्नु भएको छ। विशेष महाधिवेशनबारे पार्टीले आधिकारिक धारणा राख्नुपर्छ भन्ने भएको छ। भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनबारे नीतिगत निर्णय लिन्छ,’ नेपालखबरसँग उनले भनिन्।
Shares

प्रतिक्रिया