नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्रै गर्ने विशेष महाधिवेशनमा नीति र नेतृत्व फेर्ने प्रस्ताव गर्ने बताएका छन्।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख अन्तिम साता १५र्औँ महाधिवेशन गर्ने कार्यतालिका बहुमतबाट पारित गरेको छ। यसमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले फरक मत राखेका छन्।
कार्यसम्पादन समितिले वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरेसँगै महामन्त्री थापाले भने पुस मसान्तभित्रै विशेष महाधिवेशन गर्ने बताएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले विशेष महाधिवेशनका विषयमा निर्णय गर्न एक-दुई दिन केन्द्रीय कार्यसमितिलाई कुर्ने बताए।
पुस मसान्तभित्र विशेष महाधिवेशन गर्न धेरै समय नभएकाले एक-दुई दिन सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग छलफल गर्ने बताए। तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विशेष महाधिवेशनका विषयमा निर्णय गर्न पहले गर्ने उनको भनाइ थियो।
केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको निर्णय गरेमा त्यसैअनुसार जाने उनको भनाइ थियो। तर, केन्द्रीय कार्यसमितिले निर्णय नगरेमा आफूहरू विशेष महाधिवेशन बोलाउने थापाले बताए। उनले भने, ‘‘म टुलुटुल हेरेर बस्दिँन। विधानको धारा अनुसार जान्छु। आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गर्छु।’
यसका लागि उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई तयारी अवस्थामा रहन पनि उनले आग्रह गरे। ‘केन्द्रीय कार्यसमितिले आयोजना गर्ने वा नगर्ने एक-दुई दिनमा प्रष्ट हुन्छ,’ थापाले भने, ‘पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि काठमाडौँ आउने तयारी गर्नुहोला।’
विशेष महाधिवेशनको कार्यविधिका विषयमा सोधिएको प्रश्नमा महामन्त्री थापाले दुई वटा बाटो रहेको बताए। पहिलो, केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाएमा केन्द्रीय कार्यसमितिले बनाउने कार्यविधि नै तय हुने बताए।
केन्द्रीय कार्यसमितिले निर्णय नगरेमा विशेष महाधिवेशनले नै कार्यविधि बनाउने थापाको भनाइ थियो। त्यसमा आफूले नीति र नेतृत्व परिवर्तनको प्रस्ताव राख्ने उनले बताए।
‘विशेष महाधिवेशनले के गर्नुपर्छ भन्नेमा सबैका आ-आफ्नो राय हुन्छन्, मेरो राय नीति र नेतृत्व सबै बदल्नुपर्छ भन्ने हो,’ महामन्त्री थापाले भने, ‘विशेष महाधिवेशनले नै कार्यविधि बनाउने भयो भने मेरो राय हलमा राख्छु। बाँकी कुरा विशेष महाधिवेशनले गर्ने निर्णय विशेष महाधिवेशनले गर्छ। ’
विशेष महाधिवेशन भयो भने त कांग्रेस फुट्छ नि भन्ने प्रश्नमा उनले त्यस्तो अवस्था आउन नदिने बताए। नेपाली कांग्रेसका लागि अहिलेको सजिलो अवस्था नभएको उल्लेख गर्दै थापाले भने, ‘जस्तोसुकै अवस्था आवस्, नेपाली कांग्रेस पार्टी फुट्दै, फुट्न दिँदैनौँ।’
यी पनि पढ्नुहोस् :
Shares

प्रतिक्रिया