राजनीति


सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन, एआईका डिपफेक सामग्रीमाथि कडाई गर्छौं: आयोग

सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन, एआईका डिपफेक सामग्रीमाथि कडाई गर्छौं: आयोग

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १६:३०, काठमाडौँ

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आयोगले सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन्।

आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले सूचना प्रविधिको प्रोत्साहन र हरित निर्वाचनमा जोड दिएर आयोगले निर्वाचन आचारसंहिता जारी गरेको जानकारी दिए।

सूचना प्रविधिको प्रयोगलाई अवसरका रूपमा लिएर आगामी निर्वाचनलाई हरित निर्वाचनको रुपमा गर्न लागिएको उनको भनाई छ। उनले सूचना प्रविधिको दुरुपयोगमा पनि आयोगले विशेष ध्यान दिने बताए।

प्रवक्ता भट्टराईले सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगले निर्वाचनलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याएपनि यसले चुनौतीसमेत थप्ने भएकाले आचारसंहितामार्फत दुवै पक्षलाई समेटिएको जानकारी दिए। उनकाअनुसार यसपटकको निर्वाचन आचारसंहिताले ‘हरित निर्वाचन’को अवधारणालाई प्राथमिकतामा राखेको छ। विगतमा जस्तै ठूलो मात्रामा प्रचार पम्पलेट, झण्डा र अन्य भौतिक सामग्री प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको उनले जानकारी दिए।

उनले भने, ‘सूचना प्रविधिको प्रयोग हाम्रा लागि धेरै नै अवसर हो तर कहिलेकाही चुनौती पनि हो। यी दुवै कुरालाई निर्वाचन आचासंहिताले आत्मसाथ गरेको छ। आचारसंहिता जारी गर्दाखेरि निर्वाचनलाई हरित निर्वाचन बनाउने पनि भनेका छौँ, हामीले। सामाजिक सञ्जाल र सूचना प्रविधिलाई सँगसँगै जोड्न खोजे, हरित निर्वाचन बनाउने क्रममा विगतमा जस्तो प्रचार पम्पलेट, झण्डा धेरै प्रयोग गर्ने कुरामा आचारसंहिताले निरुत्साहित गरेको छ।’ 

विद्युतीय माध्यममार्फत प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई प्रोत्साहन गरिएको उनको भनाई छ। तर विद्युतीय माध्यम प्रयोग गर्दा मानहानी हुने, मिथ्या तथा भ्रामक सूचना प्रसारण गर्ने गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिने उनले प्रष्ट पारे। यस्ता गतिविधि भएको खण्डमा कानुनी दायरामा ल्याइने व्यवस्था पनि आचारसंहितामा समेटिएको उनले जानकारी दिए।

विशेषगरी एआई प्रयोग गरेर डिपफेक सामग्री उत्पादन हुन नदिन आयोग गम्भीर रहेको उनले बताए। हरित निर्वाचनलाई कार्यान्वयन गर्न आयोगले निर्वाचन सामग्री उपलब्ध गराउँदा सकेसम्म प्लाष्टिक तथा वातावरण प्रदुषण गर्ने सामग्रीको प्रयोग कम गर्ने नीति लिएको पनि जानकारी दिए।

प्रयोग गर्नैपर्ने सामग्रीको हकमा पनि वातावरणलाई कम हानी गर्ने गुणस्तरका सामग्री छनोट गरिने उनको भनाई छ। यसमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाले पनि प्रचारप्रसारका क्रममा वातावरणमैत्री सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 

प्रवक्ता भट्टराईले थपे, ‘विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्नलाई प्रोत्साहन गरेको छ। तर त्यसरी प्रचारप्रसार गर्दैगर्दा अरुलाई मानहानी हुने, मिथ्या सूचना, भ्रामक सूचना प्रसारण गर्ने कुराहरुलाई निस्तेज गर्न खोजिएको छ। त्यसो गरिएको खण्डमा कानुनी दायरमा ल्याउने कुरालाई पनि आचारसंहितामा समेटिएको छ। विगतका कुराहरुलाई निरन्तरता दिँदै यो पटक नयाँ थपिएको विषय चाहिँ यो हो। सूचना प्रविधिको मर्यादित प्रयोग गर्ने कुरा समेटिएको छ। यसको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिइएको छ तर दुरुपयोगलाई नियन्त्रण गर्ने निति लिईएको छ। एआई प्रयोग गरेर डिपफेक सामग्रीहरु उत्पादन नहुन भन्ने कुरामा आयोगको कन्सन रहेको छ।’ 

उनले आयोगले ५२ दिनअगाडी निर्वाचन आचारसंहिता लागू गर्ने गरेको उल्लेख गर्दै सोही अनुसार यस पटक पनि लागू गर्ने तयारी गरिएको जानकारी दिए। निर्वाचन आचारसंहिता नैतिक र कानुनी विषय भएकाले राजनीतिक दलले मतदातासँग मत माग्न जाँदा प्रस्तुत गर्ने घोषणापत्र कार्यान्वयनको अवस्थाबारे जितेपछि आवधिक रूपमा जानकारी दिनुपर्ने व्यवस्था गरिएको उनको भनाई छ।

उनले जनसंख्या र भूगोलको आधारमा उम्मेद्वारहरूले खर्च गर्न पाउने सीमा तोकिएको पनि जानकारी दिए। खर्च गर्दा बैंक खातामार्फत गर्नुपर्ने र निर्वाचन भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad