निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तायरी तीव्र पारेको छ। आयोगका अनुसार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भई काम सुरु भइसकेको छ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची बुझाइ सकेका छन्।
आयोगले यही पौष १३ र १४ गते समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तय गरेको छ। यसका लागि आयोगमा ६४ वटा राजनीतिक दलहरूले भाग लिने अनुमान गरिएको छ।
आयोगले यस पटकको निर्वाचनलाई आर्थिक रूपमा कम खर्चिलो बनाउन ‘मितव्ययिता’ को नीति लिएको छ। मतपेटिका र कागजको मौज्दात पर्याप्त रहेकाले नयाँ खरिद गर्नु नपर्ने आयोगले बताएको छ।
आयोगका अनुसार विगतका निर्वाचनमा प्रयोग भएका स्वस्तिक छाप, रबर म्याट, मसी र स्ट्याम्प प्याड जस्ता सामग्रीहरूलाई नै पुनः प्रयोग गरिनेछ।
निर्वाचनमा प्रयोग हुने कुल ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश तथा जिल्ला स्तरबाटै खरिद गरिनेछ भने १४ प्रकारका मुख्य सामग्रीहरू मात्र केन्द्रबाट खरिद/छपाईको प्रक्रियामा रहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले सरोकारवालाहरूसँगको छलफललाई सघन बनाएको आयोगले बताएको छ।
त्यस्तै उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भइसकेको छ भने अर्को महत्वपूर्ण बैठक पौष १६ गते आयोजना गरिँदैछ।
प्रधानमन्त्रीको उपस्थितिमा राजनीतिक दल, नागरिक समाज र युवा समूहहरूसँग निर्वाचनको वातावरण बनाउन छलफल भएको छ। साथै, आयोगले पूर्व निर्वाचन पदाधिकारीहरू र सञ्चार क्षेत्रका नियामक निकायहरूसँग समेत सुझाव लिएको छ।
आयोगले निर्वाचन सम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउन ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। यस केन्द्रमा मतदाता शिक्षा, प्रेस अफिस र सूचनाको शुद्धताका लागि विशेषज्ञ कर्मचारीहरू खटाइएको छ।
अहिले आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि निर्देशिका तयार गर्ने र मुख्य निर्वाचन अधिकृतहरूको नामावली संकलन गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको बताएको छ। त्यस्तै निर्वाचन आचारसंहिता पनि चाँडै पारित गरी लागू गर्ने आयोगको तयारी छ।
Shares

प्रतिक्रिया