राजनीति


नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको छ, सबै वामपन्थी शक्तिहरू मिलौँ: झलनाथ खनाल

नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको छ, सबै वामपन्थी शक्तिहरू मिलौँ: झलनाथ खनाल

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८२ बिहिबार १०:१७, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गरेका छन्। 

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकताको आह्वानसमेत गरेका छन्। 

अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न खोजिरहेको आरोप लगाएका छन्। 

‘हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन्,’ खनालले सन्देशमा भनेका छन्, ‘उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन्।’ 

उनले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको बताएका छन्। पश्चिमी शक्तिको प्रभुत्वमा रहेको पुरानो विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था क्रमशस् निर्माण भइरहेको दाबी पनि खनालले गरेका छन्। 

यो संकटबाट मुलुकलाई पार लगाउन सिद्धान्तका आधारमा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन पनि उनले आह्वान गरेका छन्। उनले निर्वाचन घोषणा गरेपनि शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार नभएको बताएका छन्।

‘अहिले वर्तमान संविधान मिचेर भएपनि नयाँ सरकार बनेको छ र त्यसले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। अवश्य नै निर्वाचनको विकल्प छैन। तर शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको देखिँदैन,’ खनालको सन्देशमा भनिएको छ, ‘निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्ने, मुलुकको सामाजिक–आर्थिक ढाँचामा व्यापक परिवर्तन गर्ने, शिक्षा स्वास्थ्यमा व्यापक रुपान्तरण गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, परराष्ट्र नीतिलाई ट्रयाकमा फर्काउने, सुशासन स्थापना गर्दै भ्रष्टाचारको अन्त्य गर्ने र युवाहरूको लागि रोजगारी सिर्जना गर्ने जस्ता ज्वलन्त तत्कालिक  सवालहरू समाधान गर्ने आवश्यकता प्रबल बनिरहेको छ।’ 

उनले यी सवालहरू समाधान गर्ने ठोस योजनाका साथ गरिने निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिक समस्या समाधान गर्दै क्रमशः समाजवादतिर अग्रसर हुने बाटो खोल्न सक्ने बताएका छन्। 

‘त्यसका लागि हाम्रो देशका समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नु अनिवार्य हुन्छ। त्यही उद्देश्य प्राप्तिका निम्ति हामीले सत्रवटा बाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौं। यो पार्टी चार आधारभूत सिद्धान्तका आधारमा सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्न दृढ छ,’उनले भनेका छन्। 

खनाले ‘जेन्जी आन्दोलनका नाममा देशी विदेशी प्रतिक्रियावादीहरूले विगत भदौ २४ गते देशव्यापी रुपमा गरेको तोडफोड, आगजानी, लुटपाट र महाविध्वंसले सिंगो मुलुक नै महासंकटको अवस्थामा पुगेको उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad