कोशी


सुनसरीमा सशस्त्रको गोलीले सफारी चालकको मृत्यु, विरोध प्रदर्शनले घटनास्थलमा तनाव

सुनसरीमा सशस्त्रको गोलीले सफारी चालकको मृत्यु, विरोध प्रदर्शनले घटनास्थलमा तनाव

घटनास्थल


सुमन सुस्केरा
पुस १७, २०८२ बिहिबार १०:२७, विराटनगर

सुनसरीको कोसी गाउँपालिका-१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ।

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो।

भारतबाट आफ्नो सिटी सफारीमा ८-१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा राति करिब १:१० बजे साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

​घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सशस्त्र प्रहरीको कदमविरुद्ध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले दोषीलाई कारबाही माग गर्दै मृतकको शव उठाउन दिएका छैनन्, जसका कारण घटनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

​यस विषयमा सशस्त्र प्रहरी बल, इटहरीका डीआइजी कुमार न्यौपानेले राति सामान लिएर आउँदै गरेका दुईवटा अटो र एउटा ई-रिक्सालाई ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा झडप भएको दाबी गरे। 

तस्कर समूह रोकिनुको सट्टा सशस्त्र प्रहरीलाई नै ठक्कर दिएर भाग्न खोजेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा साहलाई गोली लागेको उनको भनाइ छ। 

झडपमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानहरू नवीन खड्का र युगराज खतिवडा समेत घाइते भएको जानकारी प्राप्त भएको उनले बताए। ​

डीआईजी न्यौपानेले आफू झापाबाट घटनास्थलतर्फ फर्किरहेको जानकारी दिँदै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए।

स्थानीयले भने तस्करी नियन्त्रणका नाममा सुरक्षाकर्मीले सिधै गोली चलाएको भन्दै विरोध प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad