उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्य नहुने भएको छ।
आइतबार राती रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङबीच भएको वार्ता सहमतिमा नपुगेको एक नेताले जानकारी दिए।
‘अपमानजनक शक्ति वाँडफाँटको प्रस्ताव उहाँहरूले राख्नुभयो,’ उनेपाका ती नेताले नेपालखबरसँग भने, ‘२० प्रतिशतभन्दा पनि कम दिएर मिलौँ पो भन्नुभयो त। यो भनेको त हामीमाथि अपमानजनक व्यवहार भयो।’
सो प्रस्तावलाई कुलमान घिसिङले अस्वीकार गरेका थिए।
आइतबार रातिको बैठकमा सहमति नजुटेपछि सोमबार बिहान निर्णायक छलफल गर्ने भनिए पनि रवि र बालेनले अहिलेसम्म कुनै छलफल नगरेको समेत ती नेताले जानकारी दिए।
रास्वापसँग एकताको प्रक्रिया अगाडि नबढ्ने देखिएपछि घिसिङसहित उनेपाका नेताहरू समानुपातिक उम्मेदवार टुंगो लगाउन जुटेका छन्।
‘अब हामी छुट्टै अगाडि बढ्ने भयौँ, समानुपातिक सूची तयार पार्दैछौँ,’ उज्यालो नेपाल पार्टीका नेता जीतराम वाइबाले भने, ‘अब हामी सूची छुट्टै सूची पेस गर्न लागेका छौँ।’
बालेनका विश्वासपात्र मध्येका एक नेताले आइतबारको वार्तामा कुलमान भित्र्याउन हदैसम्मको लचक भए पनि रवि लामिछाने तयार नभएको बताए।
‘हिजोको वार्तामा बालेनजी र महानगरका साथीहरूले कुलमानलाई ल्याउनै पर्ने बताउनु भयो,’ ती नेताले भने, ‘तर, रास्वपाका साथीहरूले त्यो चाहनुभएको जस्तो देखिएन। यदि बालेनजीकै जस्तो त्यही इच्छाशक्ति रास्वपाबाट व्यक्त भए कुलमानजीलाई मिलाएर लैजान गाह्रो छैन।’
Shares

प्रतिक्रिया