राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकताको सहमति गरेका काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षले समानुपातिकतर्फ बुझाउने उम्मेदवारहरूको सूची तयार पारेको छ।
रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहानै एकताको सहमति भएको थियो। जस अनुसार रवि पार्टी सभापति र बालेन प्रधानमन्त्री तथा संसदीय दलको नेता बन्ने छन्।
एकताको सहमतिसँगै दुवै पक्ष समानुपातिकको सूची तयार पार्न बसेका हुन्। निर्वाचन आयोगले समानुपातिकका लागि ११० जनाको सूची बनाउने समय भोलिसम्मलाई दिएको छ।
‘नामावली ठूलै छ,’ नामावली तयार पारिरहेका बालेन निकट एक नेताले नेपालखबरसँग भने, ‘७०, ८० जनाको हुन्छ।’
दुवै पक्षबाट गएको सूचीलाई हेरेर टुंग्याउन बालेन र रवि बस्ने छन्। उनीहरुले योग्यता, क्षमता र कलस्टर लगायतका क्षेत्र हेरेर नामावली टुंग्याउने छन्। ‘यता (बालेन पक्ष)बाट जाने जुन नामावली हुन्छ, त्यसको स्क्रिनिङ उहाँहरूले गर्नुहुन्छ,’ उनको भनाइ छ, ‘संसदीय दलको नेता र सभापतिले टुंग्याउनुहुन्छ।’
‘यहाँबाट जाने सबै मनपरे सबै हुन्छ, सबै प्यारामिटर हुनुपर्यो। क्षमता हेर्नुपर्यो। कहाँबाट आउनु भएको हो हेर्नुपर्यो,’ उनले थपे। युवा पिँढी (जेनजी) र अनुभव भएका गरेर अन्तिम सूची बनाउने समझदारी रवि र बालेनबीच छ।
‘उपलब्धमध्ये, आएका मध्ये संसद्मा गएर म्यान्डेटलाई सम्बोधन गर्न सक्ने साथीहरुलाई आपसी समझदारीमा उहाँहरुले टुंग्याउनुहुन्छ,’ ती नेता भन्छन्, ‘एकदम विश्वासको वातावरणमा राम्रो मान्छेलाई दुई जनाले अगाडि बढाउने भन्ने छ।’
११० जनाको नाम पठाउँदा कम्तिमा ४०-५५ जना आफ्नो पक्षका पर्नेमा बालेन पक्ष ढुक्क छ। ‘राम्रै भइहाल्यो भने ५५-६० पनि हुनसक्यो,’ बालेन पक्ष भन्छ, ‘४४-५० पनि हुनसक्छ। यो खासै ठूलो कुरा होइन।’
Shares

प्रतिक्रिया