गत ४ चैतमा टोखाबाट बरामद भएको २५ करोडभन्दा बढी विदेशी मुद्रा तस्करीका मुख्य योजनाकार भनिएका नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आइतबार पौडेल र ट्रक चालक कुसाङ लामालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना मागदाबी गरेको छ। जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार बरामद विदेशी मुद्राको स्रोत नखुलेको र यो अवैध कारोबारमा प्रयोग भएको पाइएपछि सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत कारबाहीको माग गरिएको हो।
सुटुक्क रिहा भएका थिए पौडेल
टोखास्थित झोरबाट ना७ख १६५२ नम्बरको ट्रकमा युरो र डलर लोड गरी चीनतर्फ पठाउन खोज्ने मुख्य व्यक्ति सिन्धुपाल्चोकका नारायण पौडेल हुन्। मुद्रा बरामद भएपछि लामो समय फरार रहेका उनी गत ३२ असारमा काठमाडौं जिल्ला अदालतमा सुटुक्क हाजिर भएका थिए। न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
२५ करोडका मालिक भनिएका पौडेल सामान्य धरौटीमा छुटेका थिए। चालक लामालाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
पौडेलले साँझ ६:३० बजेतिर ट्रकमा रकम राखेका थिए भने सोही राति ११ बजे ट्रकबाट डलर र युरो बरामद भएको थियो। पक्राउ पर्नुअघि पौडेल र चालक लामाबीच पटक–पटक फोन सम्पर्क भएको कल डिटेल रेकर्ड (सीडीआर) मा देखिएको थियो।
राजस्व अनुसन्धान विभाग र प्रहरीको निष्कर्षअनुसार यो रकम चीनबाट सुन तस्करी गरी ल्याउनका लागि भुक्तानीका रूपमा बाहिर पठाउन लागिएको थियो। चालक कुसाङ लामा यसअघि २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परी ५ वर्ष जेल सजाय काटेर छुटेका व्यक्ति हुन्। उनलाई यो तस्करीका लागि प्रयोग गरिएको ट्रकसमेत पौडेलले नै किनिदिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया