राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको सहमतिसँगै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएका काठमाडौँ महानगरका मेयर बालेन शाह काठमाडौँबाट भने चुनाव नलड्ने भएका छन्।
देशका विभिन्न भागबाट चुनाव लड्ने चर्चा चलेको भए पनि उनी आफूले मेयर जितेको क्षेत्र काठमाडौँबाट भने प्रतिनिधि सभाको चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन्।
बालेन निकट स्रोतका अनुसार उनी काठमाडौँ बाहेकको क्षेत्रमा गएर चुनावमा लड्ने मनस्थितिमा छन् तर कुन क्षेत्रबाट भन्ने टुंगो लागि सकेको छैन्।
‘काठमाडौँबाट चाहिँ उहाँ उठ्नु हुन्न,’ बालेन निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘कहाँ प्रधानमन्त्री बन्ने मान्छे काठमाडौँबाट लड्नुहुन्छ त?,’
काठमाडौँ बाहिर चुनाव लडेर देशभर नै रास्वपाको पक्षमा मोहोल बनाउनुपर्छ भन्ने सोचाइमा बालेन रहेका छन्।
‘यहाँ (काठमाडौँ) त जसले पनि जितिहाल्छ नि,’ स्रोत भन्छ, ‘माहोल बनाउने हो, बहुमतकै प्रोजेक्सनमा हो भने हामीहरु जो-जो छौँ, यहीबाट लड्नुपर्छ भन्ने छैन। सबैतिर खट्नुपर्छ भन्ने छ।’
बालेन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ मा गएर चुनाव लड्ने भन्ने चर्चा पनि छ। तर, उनका निकटवर्तीहरू त्यसमा टुंगो लागि नसकेको बताउँछन्।
त्यस्तै महोत्तरी लगायतको क्षेत्रमा पनि उनको चर्चा छ।
Shares

प्रतिक्रिया